Logo
८ भदौ २०८३, सोमबार

प्रतिनिधिसभा बैठक आज, चार विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत हुने

अक्षरपाटी
२०८३ भदौ ८ , सोमबार १०:०८ मा प्रकाशित

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज सोमबार दिउँसो १ बजे बस्दैछ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ।

बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

बैठकमा यी प्रस्तावमाथि आवश्यक प्रक्रिया अघि बढाइनेछ भने मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तरसमेत हुने कार्यसूची रहेको छ।

प्रतिनिधिसभा बैठक संघीय संसद