



काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले नेपालको राष्ट्रिय शोकप्रति ऐक्यबद्धता जनाउँदै बाढी तथा पहिरोबाट प्रभावित नेपालीप्रति सहानुभूति व्यक्त गरेका छन्।
अष्ट्रेलियाली संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानीजले विनाशकारी बाढीबाट प्रभावित नेपालका नागरिकप्रति अष्ट्रेलिया सरकार र जनताको तर्फबाट दुःख व्यक्त गरेका हुन्।
‘नेपालको राष्ट्रिय शोकका दिन हाम्रो विचार नेपालका जनता र यी विनाशकारी बाढीबाट प्रभावित सबैसँग छ,’ उनले संसदमा भने।
उनले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, विपत्तिका कारण कठिन परिस्थितिमा रहेका नेपालीप्रति अष्ट्रेलियाको साथ र ऐक्यबद्धता रहेको सन्देश दिएका छन्।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि नेपाल सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ। सोही सन्दर्भमा अष्ट्रेलियाली प्रधानमन्त्री अल्बानीजले नेपालीप्रति ऐक्यबद्धता जनाएका हुन्।
अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीज

