



काठमाडौं । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी गृहमन्त्री सुधन गुरुङ फर्किएका छन्।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ शहीदको स्मृतिमा निर्माण गरिएको पार्क उद्घाटनका लागि गृहमन्त्री गुरुङ मंगलबार सातदोबाटो पुगेका थिए। तर पार्कमा निर्माण गरिएका शहीदका सालिक वास्तविक अनुहारसँग मेल नखाएको भन्दै शहीद परिवारले आपत्ति जनाएपछि उनी उद्घाटन नगरी फर्किएका हुन्।
पार्कमा उपस्थित शहीदका आफन्तहरूले सालिक निर्माणमा लापरबाही भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले वास्तविक व्यक्तिको पहिचान र अनुहारसँग मेल नखाने सालिक बनाएर शहीदको सम्मान गर्न खोज्नु उचित नभएको बताएका छन्।
शहीद परिवारका सदस्यहरूले भने, “निर्माण गरिएका सालिक शहीदहरूको वास्तविक अनुहारसँग मेल खाँदैनन्। सालिक निर्माणमा लापरबाही गरिएको छ।”
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको स्मृतिमा पौडी पोखरी परिसरको करिब दुई रोपनी जग्गामा पार्क निर्माण गरिएको हो।
सरकारले पार्कलाई जेनजी शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी निर्माण गरिएको जनाएको छ। पार्कमा शहीदहरूको सालिकसहित स्मृतिसम्बन्धी संरचना निर्माण गरिएको छ।
तर उद्घाटनकै दिन शहीद परिवारले सालिकको स्वरूप र वास्तविक अनुहारबीचको असमानतामाथि प्रश्न उठाएपछि पार्क उद्घाटन कार्यक्रम नै प्रभावित भएको हो।
गृहमन्त्री सुधन गुरुङ जेनजी स्मृति पार्क

