Logo
६ मंसीर २०८३, आईतबार

अर्थमन्त्री वाग्लेको तीनदिने भारत सकेर स्वदेश फिर्ता, लगानी विस्तारका लागि भारतीय उद्योगीलाई आह्वान

अक्षरपाटी
२०८३ असोज ३ , शनिबार १०:०९ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन्। उनले भारत भ्रमण निकै महत्वपूर्ण र फलदायी भएको प्रतिक्रिया दिएका छन्।

भारत सरकारको निमन्त्रणामा छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार नयाँ दिल्ली पुगेका वाग्लेले भ्रमणका क्रममा नेपाल–भारत आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्धका विविध पक्षमा उच्चस्तरीय छलफल गरेका थिए।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय वित्तमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका थिए। भेटमा आर्थिक सहकार्य, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहयोगका विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ।

वाग्लेले नयाँ दिल्लीमा आयोजित कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) को व्यापार तथा लगानी अन्तरक्रियालाई सम्बोधन गर्दै भारतीय उद्योगी–व्यवसायीलाई नेपालमा लगानी विस्तार गर्न आह्वान गरे। नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उल्लेख गर्दै उनले डिजिटल अर्थतन्त्र, स्वच्छ ऊर्जा, कृषि, पर्यटन, उत्पादन तथा स्वास्थ्यलगायत क्षेत्रमा लगानीका अवसर रहेको बताए।

उनले नेपाललाई भारतीय व्यवसायीले बजारका रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय आपूर्ति शृंखलामा साझेदारका रूपमा हेर्नुपर्ने धारणा राखेका थिए।

अन्तरक्रियामा सिआईआईका पूर्वअध्यक्ष एवं आईटिसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जीव पुरी, मेदान्ताका अध्यक्ष डा. नरेश त्रेहान, जेबिएम अटोका निशान्त आर्य, एनएचपीसीका भूपेन्द्र गुप्ता, वरुण बेभरेजेजका रविकान्त जयपुरिया, आरआईटीइएसका राहुल मिथल, ज्याक्सन डिस्ट्रीब्युटेड इनर्जीका सुधांशु पोखरियाल, जीएमआर इनर्जीका मनोजकुमार दीक्षित, डाबर इन्डियाका अभिषेक जुगरान, कोका–कोला इन्डियाकी देवयानी राणा र पञ्जाब नेसनल बैंकका एम. परमासिवमलगायत भारतीय उद्योगी–व्यवसायी सहभागी थिए।

भ्रमणका क्रममा वाग्लेले पूर्वविदेशसचिव श्याम शरणले आयोजना गरेको कूटनीतिक संवाद, प्रवासी नेपालीको प्रतिनिधिमण्डलसँगको भेट, नेपाली दूतावासको संविधान दिवस कार्यक्रम तथा दिल्ली स्कुल अफ इकोनोमिक्सको प्राज्ञिक छलफलमा पनि सहभागिता जनाएका थिए।

भ्रमणपछि वाग्लेले भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारतले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद दिँदै पुनर्निर्माणमा थप सहकार्यका लागि प्रस्ताव गरिएको बताए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमण

ट्रेन्डिङ ( साप्ताहिक )