


काठमाडौं। भारतको असम राज्यस्थित गुवाहाटीमा होटल सञ्चालन र स्वामित्वसम्बन्धी विवादले हिंसात्मक रूप लिँदा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ।
गुवाहाटीको जीएस रोडस्थित बोरा सर्भिस नजिकै रहेको होटल बिलास इनमा सोमबार राति करिब ९ बजे गोली चलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार होटलका मालिक र लिजमा होटल सञ्चालन गर्दै आएका व्यक्तिबीच भएको विवादका क्रममा गोली चलेको थियो। घटनामा एकै परिवारका चारसहित पाँच जनाले ज्यान गुमाएका छन्।
गोली लागेका ६ जनामध्ये पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनालगत्तै घटनास्थल पुगेको प्रहरीले गोली प्रहारमा प्रयोग भएको भनिएको ३२ बोरको इजाजतप्राप्त पेस्तोल बरामद गरेको छ। घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ।
प्रारम्भिक विवरणअनुसार होटलको स्वामित्व र लिज सम्झौतासम्बन्धी विवाद चर्किएपछि गोली चलेको हो। यद्यपि, गोली प्रहारको वास्तविक कारण र घटनामा संलग्न अन्य व्यक्तिहरूबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ। होटल सञ्चालनसम्बन्धी सामान्य विवादले पाँच जनाको ज्यान जाने गरी हिंसात्मक रूप लिएपछि घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ।
गुवाहाटी

