


काठमाडौं । नागरिकता हराएको वा बिग्रिएको अवस्थामा प्रतिलिपि लिन अब नागरिकता जारी भएकै जिल्ला धाउनुपर्ने बाध्यता हट्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था कार्यान्वयनमा आएको छ।
आगलागीमा परेको, पानीले भिजेर नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको वा नयाँ ढाँचामा आवश्यक परेको लगायतका अवस्थामा नागरिकताको प्रतिलिपि लिन सकिनेछ।
सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची र नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार यो व्यवस्था गरिएको सूचनामा उल्लेख छ।
उपत्यकामा कहाँबाट लिने सेवा?
काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकको सहजताका लागि प्रदेशअनुसार तीनवटै जिल्लाबाट सेवा दिने व्यवस्था मिलाइएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालय वा मातहतका कार्यालयबाट: बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्नेछन्।
ललितपुर जिल्ला प्रशासन कार्यालय वा मातहतका कार्यालयबाट : कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकलाई सेवा दिइनेछ।
भक्तपुर जिल्ला प्रशासन कार्यालय वा मातहतका कार्यालयबाट : कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकले सेवा पाउनेछन्।
गृह मन्त्रालयको कात्तिक ९ गतेको परिपत्रअनुसार सेवाग्राहीको सम्भावित चापलाई ध्यानमा राखेर यस्तो व्यवस्था मिलाइएको काठमाडौं प्रशासनले जनाएको छ।
विवरण मिलेपछि मात्रै प्रतिलिपि
काठमाडौं प्रशासनका अनुसार नागरिकताको प्रतिलिपिका लागि निवेदन दिने व्यक्तिको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS) मा रहेको विवरणसँग मिल्नुपर्नेछ। विवरण रुजु भएर मिलेपछि प्रतिलिपि जारी गरिनेछ।
तर, अभिलेख नभेटिएका वा पुरानो नागरिकतामा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण राखेर प्रतिलिपि लिन चाहने व्यक्तिले नागरिकता जारी भएकै जिल्लामा सम्पर्क गर्नुपर्नेछ। प्रारम्भिक जाँचमै शंकास्पद देखिएका निवेदकलाई पनि सम्बन्धित जिल्लामा जान प्रशासनले अनुरोध गरेको छ।
नागरिकता प्रतिलिपि

