Logo
१५ कात्तिक २०८३, आईतबार

क्वाड बैठकमा जयशंकरको जोड : आपूर्ति शृंखला, आर्थिक सुरक्षा र ‘छनोटको स्वतन्त्रता’ बलियो बनाऔँ

अक्षरपाटी
२०८३ कात्तिक १५ , आईतबार १२:११ मा प्रकाशित

नयाँदिल्ली । भारतका विदेशमन्त्री एस. जयशंकरले हिन्द–प्रशान्त क्षेत्रमा स्थिरता, समृद्धि र ‘छनोटको स्वतन्त्रता’ सुनिश्चित गर्न क्वाड राष्ट्रबीच सहकार्य थप बलियो बनाउनुपर्ने धारणा राखेका छन्।

एटलान्टामा भएको क्वाड विदेशमन्त्रीस्तरीय बैठकपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै जयशंकरले प्रविधि, महत्वपूर्ण खनिज र ऊर्जासहितका क्षेत्रमा भरपर्दो आपूर्ति शृंखला निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।

भारत, अमेरिका, जापान र अस्ट्रेलिया सहभागी क्वाड बैठकमा क्षेत्रीय सुरक्षा, आर्थिक सुरक्षा, प्रविधि, महत्वपूर्ण खनिज, ऊर्जा तथा कृत्रिम बौद्धिकता (एआई) लगायतका विषयमा छलफल भएको थियो।

जयशंकरका अनुसार हिन्द–प्रशान्त क्षेत्रमा स्थिरता कायम राख्ने, आर्थिक समृद्धि प्रवर्द्धन गर्ने र राष्ट्रहरूलाई आफ्नो हितअनुसार निर्णय तथा छनोट गर्ने स्वतन्त्रता सुनिश्चित गर्ने विषय क्वाडको निरन्तर प्राथमिकता हुनुपर्ने बताए।

उनले प्रविधि, महत्वपूर्ण खनिज र ऊर्जाका क्षेत्रमा बलियो तथा सुरक्षित आपूर्ति शृंखला निर्माण गर्न चारै देशबीच थप सहकार्य आवश्यक रहेको धारणा राखे।

आर्थिक दबाबप्रति चासो

बैठकमा हिन्द–प्रशान्त क्षेत्रमा देखिएका गैरबजारमुखी आर्थिक अभ्यास तथा बढ्दो आर्थिक दबाबको सामना गर्ने विषयसमेत उठेको थियो। जयशंकरले कुनै मुलुकको नाम उल्लेख नगरे पनि बदलिँदो विश्व अर्थतन्त्रमा आपूर्ति शृंखलालाई कुनै एक देश वा स्रोतमा अत्यधिक निर्भर हुन नदिने नीति आवश्यक रहेको संकेत गरेका छन्।

क्षेत्रीय सुरक्षाका विषयमा आतंकवादविरुद्धको सहकार्य, समुद्री सुरक्षा तथा साझेदार मुलुकको क्षमता अभिवृद्धिलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।

क्वाड राष्ट्रहरूले हिन्द–प्रशान्त क्षेत्रमा विश्वसनीय कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा पहुँच विस्तार गर्न ८ करोड ५० लाख अमेरिकी डलरभन्दा बढीको प्राविधिक तथा वित्तीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

यसअन्तर्गत ‘क्वाड एआई एक्सेलेरेटर’मार्फत सहयोग विस्तार गर्ने योजना अघि सारिएको छ। बैठकमा एआईको विकास, पहुँच र प्रयोगलाई सुरक्षित तथा विश्वसनीय बनाउने विषयमा पनि छलफल भएको थियो।

फोहोरबाट महत्वपूर्ण खनिज निकाल्ने योजनामा जोड

क्वाड बैठकमा विद्युतीय फोहोर तथा अन्य कबाडी सामग्रीबाट महत्वपूर्ण खनिज पुनःप्राप्त गर्ने विषयले समेत प्राथमिकता पाएको छ। अमेरिकाले भारत र आसियान मुलुकहरूमा फोहोरबाट महत्वपूर्ण खनिज निकाल्ने पूर्वाधार निर्माणका लागि १ करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

महत्वपूर्ण खनिजको आपूर्तिमा कुनै एक देश वा आपूर्तिकर्तामाथिको निर्भरता घटाउने उद्देश्यले चारै मुलुकले पुनःप्रयोग तथा पुनर्चक्रणलाई बढावा दिने तयारी गरेका छन्।

समुद्री सुरक्षामा पनि सहकार्य

क्वाडको सहकार्य आर्थिक र प्रविधिको क्षेत्रमा मात्र सीमित छैन। समुद्री सुरक्षालाई पनि यसको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाइएको छ। यसैक्रममा चार देशका प्रतिनिधिहरूले सेप्टेम्बर २५ देखि अक्टोबर ७ सम्म चेन्नईदेखि अस्ट्रेलियाको पर्थसम्म भारतीय तटरक्षक बलको गस्ती जहाजमार्फत समुद्री सहकार्यसम्बन्धी गतिविधिमा सहभागिता जनाएका थिए।

के हो क्वाड ?

क्वाड भारत, अमेरिका, जापान र अस्ट्रेलियाको रणनीतिक सहकार्यको मञ्च हो। यसको सहकार्य समुद्री तथा क्षेत्रीय सुरक्षा, आर्थिक समृद्धि, महत्वपूर्ण तथा उदीयमान प्रविधि, मानवीय सहायता र विपद् प्रतिकार्यलगायतका क्षेत्रमा केन्द्रित छ।

बदलिँदो विश्व राजनीतिक तथा आर्थिक परिस्थितिबीच क्वाडले हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षित आपूर्ति शृंखला, आर्थिक सुरक्षा र प्रविधिगत सहकार्यलाई थप प्राथमिकता दिँदै आएको छ।

एस. जयशंकर