




काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा झिलिमिली बत्तीको मूल्य बढ्ने भएको छ। कच्चा पदार्थको मूल्यवृद्धि, अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धि र ढुवानी खर्चमा आएको उछालका कारण यस वर्ष तिहारमा प्रयोग हुने विद्युतीय बत्ती गत वर्षभन्दा महँगिने भएको हो।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। असोज मसान्तसम्ममा २८ लाख ५९ हजार थान बत्ती आयात भएका हुन्।
गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान झिलिमिली बत्ती आयात भएका थिए। तथ्यांकले यस वर्ष आयातित बत्तीको मूल्य करिब ८ प्रतिशत बढेको देखाउँछ। तर, आयातको परिमाण भने झन्डै २७ प्रतिशतले घटेको छ।
अर्थात्, गत वर्षभन्दा कम परिमाणमा बत्ती आयात हुँदा पनि त्यसका लागि बढी रकम खर्च भएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र आयात लागत बढेको प्रभाव नेपाली बजारमा समेत परेको बताइएको छ।
नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलका अनुसार कच्चा पदार्थको मूल्य, अमेरिकी डलरको विनिमय दर र ढुवानी खर्च बढ्दा विद्युतीय सामग्रीको मूल्य १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको छ।
उनका अनुसार विद्युतीय सामग्री उत्पादन तथा आयातमा प्रयोग हुने अधिकांश कच्चा पदार्थ चीनबाट र केही भारतबाट आउने गरेका छन्। विशेषगरी चीनबाट आयात हुने सामग्रीको मूल्य स्रोत बजारमै बढेकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो।
‘झिलिमिली बत्तीभित्र प्रयोग हुने तार, तामाको मूल्य र तारको आवरणका रूपमा प्रयोग हुने प्लास्टिकको मूल्य पनि बढेको छ। सामग्री उत्पादनमा प्रयोग हुने अधिकांश कच्चा पदार्थको मूल्य स्रोत बजारमै बढेको अवस्था छ,’ उनले भने।
तिहारको झिलिमिली

