Logo
१९ कात्तिक २०८३, बिहीबार

आईजीपी फेरिएलगत्तै गगनमाथि प्रहरी निगरानी बढाइएको दाबी, पक्राउको चर्चाले बढायो राजनीतिक तरंग

अक्षरपाटी
२०८३ कात्तिक १९ , बिहीबार १०:११ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तनसँगै नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि प्रहरी निगरानी बढाइएको कांग्रेसको दाबी छ। प्रतिपक्षी दलका सभापतिमाथि निगरानी बढाइएको विषयले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।

थापा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका पछिल्ला गतिविधिको आलोचनामा आक्रामक बन्दै गएपछि उनको गतिविधिमाथि प्रहरी निगरानी बढाइएको सचिवालयका सदस्यहरूले बताएका छन्।

सचिवालयका अनुसार न्यौपाने थरका एक डीएसपीको नेतृत्वमा रहेको प्रहरी टोलीले चार–पाँच दिनयता थापाको गतिविधिमाथि निगरानी गरिरहेको छ। थापाको निवास, सम्पर्क कार्यालय, कांग्रेस पार्टी कार्यालय तथा उनी पुग्ने विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको उनीहरूको दाबी छ।

यद्यपि, थापामाथि प्रहरी निगरानी राखिएको वा उनलाई पक्राउ गर्ने तयारी भइरहेको भन्ने विषयमा नेपाल प्रहरी र सरकारले अहिलेसम्म औपचारिक पुष्टि गरेका छैनन्। न त सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै धारणा सार्वजनिक भएको छ। बरु आईजीपी दानबहादुर कार्कीलाई हटाउने विषयमा पार्टीकै कुनै संलग्नता नभएकाे प्रतिक्रिया भने रास्वपाले दिएको छ।

सुरक्षा स्रोतलाई उद्धृत गर्दै थापालाई पक्राउ गर्ने विषयमा प्रधानमन्त्रीको टिमभित्र छलफल भइरहेको दाबीसमेत गरिएको छ। योलगायतका विषयमा थापाले बुधबार कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेका छन् भने आज दिउँसो पार्टी पदाधिकारी बैठक बोलाइएको छ।

पत्रकारमाथि भएको धरपकडको घटनापछि थापा सरकारविरुद्ध थप आक्रामक बनेका थिए। उनले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यविरुद्धका गतिविधिमा कांग्रेस ‘रमिते’ बनेर बस्न नसक्ने बताउँदै आएका छन्।

सरकारका कदमविरुद्ध विपक्षी दलहरूबीच सहकार्यको पहलसमेत थापाले अघि बढाएका छन्। यस क्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत विपक्षी नेताहरूसँग संवाद गरेका छन्।

यता कांग्रेसका सहमहामन्त्री शिवाकोटीले पनि सरकारले आफूलाई खोजिरहेको आसयको सूचना सामाजिक सञ्जालमार्फत दिएका छन्। उनले सरकारलाई चुनौती दिँदै आफू काठमाडौं आउँदै गरेको बताएका छन्। उनले आफूलाई खोज्न प्रहरी परिचालन गर्न आवश्यक नरहेको आशयको अभिव्यक्ति दिएका छन्।

थापामाथि निगरानी र सम्भावित पक्राउको चर्चा बढिरहेका बेला कांग्रेसले त्यसलाई राजनीतिक दबाबका रूपमा लिएको देखिन्छ। तर, प्रहरी निगरानी वा पक्राउको तयारीबारे आधिकारिक पुष्टि भने हुन सकेको छैन।

तर सरकारले प्रतिपक्षी दलका सभापति थापालाई पक्राउ गरेको खण्डमा भने त्यसको तरंग निकै फरक हुने राजनीतिक वृतमा चर्चा हुन थालेको छ।

गगन थापा नेपाली कांग्रेस