




काठमाडौं। साहित्य, कला र संगीतको उत्सवका रूपमा साङ्ग्रिला लिटरेचर फेस्टिबलको पहिलो संस्करण आगामी पुस ११ र १२ गते ललितपुरस्थित होटल हिमालयमा आयोजना हुने भएको छ।
काठमाडौँ साङ्ग्रिला फाउन्डेसनले आयोजना गर्न लागेको दुईदिने महोत्सवमा नेपाल तथा भारतका लेखक, साहित्यकार, कलाकार, पाठक र संस्कृतिप्रेमीहरूको सहभागिता रहनेछ।
महोत्सवका निर्देशक केन सुवेदीका अनुसार भारतका कम्तीमा छ जना ख्यातिप्राप्त लेखक महोत्सवमा सहभागी हुनेछन्।
सहभागी हुने लेखकमा मनु जोसेफ, रुचिर जोशी, जेरी पिन्टो र सतीश पद्मनाभन रहेका छन्।
महोत्सवमा साहित्य, भिजुअल आर्ट्स तथा पर्फर्मिङ आर्ट्ससँग सम्बन्धित विभिन्न विषयमा अन्तरक्रियात्मक सत्र सञ्चालन गरिने आयोजकले जनाएको छ।
पुस्तक, संस्कृति र समाजसँग सम्बन्धित विषयमा समेत संवाद गरिनेछ।
आयोजकका अनुसार महोत्सवमा दुईवटा हलमा एकैसाथ विषयगत छलफलका सत्र सञ्चालन हुनेछन्। बालसाहित्य, महिला साहित्य, सीमान्तकृत समुदायको साहित्य, युवा साहित्य, अनुवाद, कृत्रिम बुद्धिमत्ता (एआई) र कवितालगायतका विषयमा छलफल हुनेछ।
साहित्यिक छलफलसँगै महोत्सवमा सांस्कृतिक नृत्य, सांगीतिक तथा अन्य कलात्मक प्रस्तुति पनि रहनेछन्।
उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ भने समापन समारोहमा वाद्यवादनसहितको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
महोत्सवमा पुस्तक प्रदर्शनीका स्टलसमेत राखिनेछन्। आगन्तुकले विभिन्न पुस्तक अवलोकन तथा खरिद गर्न सक्नेछन्।
साथै, पुस्तक हस्ताक्षर कार्यक्रममार्फत पाठकले लेखकहरूसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गर्ने अवसर पाउनेछन्।
आयोजकले यसअघि एक वर्षसम्म साहित्यसम्बन्धी संवाद कार्यक्रम ‘साङ्ग्रिला संवाद’ सञ्चालन गरेको थियो। सोही कार्यक्रमको निरन्तरताका रूपमा दुईदिने साहित्य महोत्सव आयोजना गर्न लागिएको हो।


