Logo
६ मंसीर २०८३, आईतबार

नयाँ दिल्ली पुगे प्रधानमन्त्री बालेन

अक्षरपाटी
२०८३ मंसीर ६ , आईतबार ०५:११ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन्। नेपाल एयरलाइन्सको विमानमार्फत भारत पुगेका प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।

प्रधानमन्त्री शाहसँगै भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी छन्। त्यसैगरी, निजी क्षेत्रका ५२ जना व्यवसायी आफ्नै खर्चमा भ्रमणमा सहभागी भएका छन्।

विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल जाने कार्यक्रम छ। त्यहाँ आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्। पहिलो दिनका लागि यसबाहेक अन्य औपचारिक भेटघाट तय गरिएको छैन।

भ्रमणको दोस्रो दिन अर्थात् मंसिर ७ गते प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटवार्ता हुनेछ। उनले बिहान १० बजे नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। सो क्रममा दुवै प्रधानमन्त्रीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत गरिएको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार मंसिर ७ गते मध्याह्न १२ बजेर २५ मिनेटमा दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ।

मोदीसँगको भेटवार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने बताइएको छ।

त्यस्तै, दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र ९एमओयू० आदानप्रदान गर्ने तयारी छ।

प्रधानमन्त्री शाहले मंसिर ७ गते अपराह्न ३ बजेर १५ मिनेटमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन्। राष्ट्रपति निवासमा हुने भेटपछि उनी अपराह्न ४ बजेर ५० मिनेटमा नयाँ दिल्लीबाट नेपाल फर्कने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

नेपाल सरकारले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई राष्ट्रहितमा केन्द्रित रहेको जनाएको छ। यस भ्रमणबाट नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुनुका साथै व्यापार, ऊर्जा, पूर्वाधार र अन्य प्राथमिकताका क्षेत्रमा आपसी सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।

नयाँ दिल्ली प्रधानमन्त्री बालेन शाह भारत भ्रमण

ट्रेन्डिङ ( साप्ताहिक )