




काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ।
मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद तामेल हुन बाँकी रहेपछि सुनुवाइ स्थगित भएको हो।
यसअघि सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक डा. केसीलाई म्याद बुझाउन पठाएको थियो। तर, प्रहरी प्रधान कार्यालयले उनको नाम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेको भन्दै म्याद बुझ्न अस्वीकार गरेको थियो।
त्यसपछि केसीले आफ्नो पद प्रहरी महानिरीक्षक रहेको उल्लेख गर्दै सर्वोच्चमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा अदालतले निवेदन तथा आदेशमा रहेको विवरण सच्याएको थियो।
अदालतले विवरण सच्याएपछि म्याद तामेलको प्रक्रिया बाँकी रहेकाले आजको सुनुवाइ स्थगित भएको हो। सर्वोच्च अदालतले रिटमाथिको अर्को सुनुवाइको मिति भने तोकेको छैन।
कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
दानबहादुर कार्की नेपाल प्रहरी प्रहरी महानिरीक्षक

