




धनगढी । नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनबाटै मतदानको अधिकार सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेका छन्।
धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै महरले रेमिटेन्समार्फत देशको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेका नेपालीलाई राजनीतिक अधिकारबाट वञ्चित गर्न नहुने बताए।
उनका अनुसार करिब १७ देखि २० प्रतिशत सक्रिय नेपाली विदेशमा छन्। उनीहरूले श्रम, सीप र पुँजीमार्फत अर्थतन्त्रमा योगदान गरिरहेको भन्दै महरले अब उनीहरूको मताधिकार पनि कार्यान्वयन गर्नुपर्ने बताए।
महरले विदेशस्थित नेपाली दूतावासमार्फत मतदान केन्द्र स्थापना, सुरक्षित वैकल्पिक मतदान प्रणाली तथा मतदाता दर्ताको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
‘देशको अर्थतन्त्रमा योगदान गर्ने नेपालीको मत देशको भविष्य निर्माणमा पनि प्रतिबिम्बित हुनुपर्छ,’ महरले भने, ‘आगामी निर्वाचनबाटै विदेशमा रहेका नेपालीको मताधिकार कार्यान्वयन गर्नु लोकतन्त्रप्रतिको सम्मान हो।’
नैनसिंह महर मताधिकार

