Logo
७ पुस २०८१, आईतबार

पशुपति क्षेत्रको मेला विवाद अख्तियारमा पुग्यो

अक्षरपाटी
२०७९ चैत्र ३० , बिहीबार ०८:०४ मा प्रकाशित

काठमाडौं। शिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लागेको मेला विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ।

मेलाको ठेक्का लगाउँदा पशुपति क्षेत्र विकास कोषकै पदाधिकारी र कर्मचारीले नियतबस कोषलाई घाटा हुने गरी मेला सञ्चालन गर्न दिइएको विवाद अख्तियार पुगेको हो।

फागुन ७ देखि १३ गतेसम्म मेला चलाउन एमएमबिकेएल इभेन्टस् एन्ड बहुउद्देश्यीय प्रालिसँग कोषले ७ दिनका लागि सम्झौता गरेको थियो।

तर कोषकै पदाधिकारीको मिलेमतोमा थप ७ दिन अर्थात फागुन २० सम्म मेला संचालन भएको थियो।

सम्झौताको मिति सकिएलगत्तै फागुन १४ मा उठाउनुपर्ने मेला २० गतेसम्म संचालन गर्न दिएर २० लाख ५० हजार त राजश्व मात्रै गुमेको छानबिन समितिको निश्कर्ष छ।

पर्यटन मन्त्रालयका सहसचिव राजेन्द्र कुमार केसीको संयोजकत्वमा गठित छानबिन समितिले सर्तविपिरीत दोब्बर समय मेला संचालन गर्न दिएर कोषकै पदाधिकारीले लगत फाइदा लिएको निस्कर्षसहित प्रतिबेदन तयार गरेको छ।

राजस्व अपचलन घटनाबारे थप छानबिन गरी आवश्यक कारबाहीका लागि पर्यटनले छानबिन प्रतिवेदनसहित बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरेको छ। अब अख्तियारले यस विषयमा छानबिन अघि बढाउनेछ।

त्यस्तै शिवरात्रिमा पशुपति मन्दिर परिसरमा राखिएको भेटीको घ्याम्पो गायब पारिएको विषयमा पनि छानविन र अनुसन्धान अघि बढेको छ।

भेटीको घ्याम्पो गायब पारिएको घटना सार्वजनिक भएपछि कोषले टोली गठन गरेर छानबिन गरेको थियो।

पर्यटन मन्त्रालयले यस विषयमा थप छानबिन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई लेखी पठाउने निर्णय गरेको छ।