Logo
२६ पुस २०८१, शुक्रबार

शिक्षाको गुणस्तर खस्कनुको कारण खोजियोस् : सांसद राणा

अक्षरपाटी
२०८० वैशाख ६ , बुधबार ०४:०४ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसकी नेता तथा सांसद आरजु राणा देउवाले सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्कनुको कारण खोज्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद राणाले भनिन्, ‘सामुदायिक विद्यालय शिक्षामा सरकारको ठूलो लगानी छ र नतिजा निराशाजनक देखिएको छ। यसको कारण खोजी गरिनुपर्छ।’

उनले सामुदायिक विद्यालयको शिक्षको स्तर सुधारका लागि आवश्यक पहल चाल्न पनि सरकारको ध्यानाकर्षण गराइन्।

उनले सरकारको तथ्यांक अनुसार ९७ प्रतिशत शिक्षकहरु तालिम प्राप्त भएको तथ्य स्मरण गराउँदै भनिन्, ‘सरकारको लगानी पनि ठूलो छ, तर नतिजा उल्लेख्य किन हुन सकेन ?’

उनले धनगढी उपमहानगरपालिकाका १७ विद्यालयको कक्षा ८ को नतिजा शून्य आएको उदाहरण पेश गर्दै उक्त अवस्था निकै निराशाजनक भएको बताइन्।

उनले देशका विश्वविद्यालयहरुमा विद्यार्थी भर्ना हुने संख्या कम हुँदै जानु पनि सकारात्मक संकेत नभएको बताउँदै ‘यो लगानी अनुसारको प्रतिफल नभएको बताइन्।’

शिक्षा क्षेत्रको सुधार, सुशासन अभिवृद्धि र भ्रष्ट्राचार न्यूनिकरणमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै शिक्षा क्षेत्रलाई बढी जोड दिँदै भनिन्, ‘नतिजाका आधारमा शिक्षक र विद्यालयहरुलाई दण्ड तथा पुरस्कारको व्यवस्था गनुपर्छ ।’