काठमाडौं। आगामी जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ।
२०७२ को महाभुकम्प र ‘फ्यामिली मिसिङ’ को कथाबस्तु समेटिएको फिल्मको कोरोना–लकडाउनको बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको थियो।
दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन तथा लेखक संचारकर्मी फूलमान वलले गरेका हुन्।
युट्युवमार्फत शुक्रबार सार्वजनिक ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्ष देखिन्छ।
पटकथा लेखक समेत रहेका निर्देशक वलले भूकम्पले भत्काएको मनहरुलाई फिल्म ‘नीरफूल’मार्फत जोड्ने प्रयास गर्न खोजेको बताए।
‘भुकम्पपछि भौतिक पुर्ननिर्माण त भयो, तर भत्किएका सम्बन्धहरुको पुर्नर्निमाण अझै बाँकी छ’, उनले विज्ञप्तिमार्फत भने, ‘नीरफूल तिनै भत्किएका सम्बन्धहरुको सानो कथा हो।’
अभिनेता दयाहाङ राईले स्क्रिप्ट लोभ लागेकै कारण अरु फिल्मको व्यस्तताको बीच ‘नीरफूल’लाई समय निकालेर रुवी भ्याली पुगेको बताए। ‘अन्य फिल्ममा भन्दा निकै फरक भूमिका यो फिल्ममा गरेको छु’, उनले भने।
‘फिल्ममा समाज आएन, कन्टेन्ट आएन’ भन्ने आरोप नेपाली फिल्मकर्मीलाई लागिरहेको बेला ‘नीरफूल’ले त्यो अभाव पूर्ति गर्ने पनि उनले दावी गरे ।
धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एशोसियट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ।
सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।
निरफुल