Logo
२३ पुस २०८१, मंगलबार

बालकृष्णलाई पार्टीले निलम्बन गर्नुपर्छः थापा, शरणार्थी प्रकरणले नेपालीकै शिर झुक्योः कोइराला

अक्षरपाटी
२०८० जेठ ३ , बुधबार ०२:०५ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका पार्टीका नेता बालकृष्ण खाँणलाई पार्टीले निलम्बन गर्नुपर्ने बताएका छन्।

महामन्त्री थापाले भने, ‘कुनै पदमा बसेको मान्छे, अभियोगमा लागेपछि स्वतः निलम्वनमा पर्छ। प्रमाणित भएन भने स्वतः आउँछ। यो आग्रह, पूर्वाग्रह होइन।’

बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीमा परम्परा छैन भनेर गलतलाई बोक्न नहुने र नयाँ परम्परा सुरु गर्नुपर्ने बताए।

उनले अनुसन्धानमा पार्टी जोडिनु नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने बताए।

महामन्त्री थापाले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रबिरुद्धको अपराध भएकाले यसमा मुछिएका जो कोहीलाई कारबाही गर्नबाट पछि हट्नु नहुने बताए।

थापाले पार्टीको बैठकमा यसबारेमा छलफल भएपनि केही नेताहरुले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भएपनि निलम्वन गर्न आवश्यक रहेको उल्लेख गरे।

थापाले आरोप लागेका व्यक्तिहरुलाई तत्कालै पार्टीले निलम्वन गरी आफूबाट अलग राख्नुपर्ने धारणा राखे। अनुसन्धानमा पार्टी कतै पनि देखिनु नहुने उनको राय थियो।

कार्यक्रममा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नक्कली शरणार्थी मुद्दामा पार्टीका नेताहरुको नाम जोडिँदा पार्टीको गरिमामा आँच पुगेको बताए। उनले नक्कली भूटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्न नहुने धारणा राखे।

‘यो प्रकरण लज्जास्पद र राष्ट्रघाती काम हो। यसले पार्टीको मात्र होइन देशकै शिर झुकाएको छ’, नेता काइरालाले भने, ‘कुनै बहानामा कसैले पनि गलत काम गरेको भए कारबाही हुनुपर्छ। देशको नागरिकलाई अनागरिक बनाइ मानवबेचबिखन गरेर विदेश पठाइदिने काम लज्जाको विषय हो।’

अहिलेको राजनीतिक परिस्थिति अत्यन्त गम्भीर भएको र झनै नेपाली काँग्रेसको परिस्थिति पनि गम्भीर भएको उनले बताए।