Logo
८ पुस २०८१, सोमबार

हन्डरै हन्डर खाएर ग्रिन लिभ्समा हरियाली ल्याइरहेका गजेन्द्र

अक्षरपाटी
२०८० जेठ ६ , शनिबार १०:०५ मा प्रकाशित

० रोहित गिरी
किशोरावयका थिए, गजेन्द्र नेपाल । नुवाकोटमा मिहिनेतले खानलाउन पुग्ने परिवार । पढेलेखेर केही गर्नुपर्छ भन्ने हुटहुटीले उनलाई पछ्याइरह्यो ।

आजभन्दा झण्डै तीन दशक अघि राजसंस्था छँदैथियो । नारायणहिटी अगाडि हुनेखानेको चहलपहल बाक्लै हुन्थ्यो । काठमाडौंको दरबार मार्ग धेरैका लागि देख्नैका लागि पनि रहरको ठाउँ थियो ।

त्यही दरबारमार्गमा खुलेको नाङलो क्याफे एन्ड पबमा गजेन्द्रले वेटरको काम पाए । ओहो ! दुनियाभरका मानिस, स्वादेशी विदेशी पर्यटकको ओइरो नै लाग्थ्यो ।

जीवनको उर्वर समय दरबार मार्गमै वित्यो, उनको । वेटर, सेफदेखि म्यानेजरसम्म भएर हस्पिटालिटी क्षेत्रमा झण्डै २५ वर्षसम्म अनुभव संगाले।

राजधानीमा दूरदराजका युवा आउने । तीं युवाहरुमा केही गर्ने उत्कठ चाहना हुन्थ्यो । सँधै कति जागिरे भइरहनु ? यही प्रश्नले उनी आफैलाई सताइरह्यो ।

जागिर जोडेर केही गर्नसके सबैलाई नभए पनि केहीलाई त काम दिन सकिन्थ्यो । दुई चार जनाको घर चलाउने माध्यम भइन्थ्यो कि भन्ने सतचाहना गजेन्द्रको मनमा दौडिन थाल्यो।

अनि सुरु भयो ग्रिन लिभ्स । रेस्टुराँ जगतमा एउटा रेस्टुरेन्ट थप्ने काम मात्रै नहोस भन्ने उनको भित्री मनसाय थियो । केही नयाँ गरौँ, केही फरक पस्किउँ भन्ने योजनासहित उनले केही साथीहरुको सहयोगमा नारायणहिटी उत्तर ढोकामा करिब ८ वर्ष अघि ग्रिन लिभ्सको दैलो उघारे ।

जहाँ विशेष खालको ग्रिन सलाद सर्भ गरे । टिपिकल इन्डियन स्वादको बिरियानी, कबाब र तन्दुरीको स्वाद पस्किए । मःमःमा कतै नभएको आकार मात्र होइन चिल्लोरहित परिकार बनाए ।

अन्य रेस्टुराँमा पाउने परिकारलाई पनि ग्राहकको स्वास्थ्यलाई नोक्सान नपुर्याउने वाचासहित सेवा दिन थाले ।

बिडम्बना, त्यहीबेला भूकम्ले हल्लायो । नाकाबन्दीले ग्रिन लिभ्सको पनि घाँटी अँठ्यायो । भनेको बेला ग्यास नपाउने, चाहिएको बेला सलाद, हरियोपरियो सागसब्जी नहुने ।

कति दिन त घरकै ग्यास बोकेर ल्याएर पनि सेवा दिए गजेन्द्र आफैले ।

निकै जरजर अवस्था हुँदा पनि सरकारले व्यवसायीको मर्का बुझेन । कुनै सहुलियत दिएन । त्यसपछि उनले उत्तर ढोकामा रहेको ग्रिन लिभ्स नागपोखरी छेवैको नारायनचौर किनारमा सारे ।

जहाँ थप खुलापन, अरियाली र रेष्टुरेन्टमा खानाको स्वाद लिँदै गर्दा बाहिरको दृश्यको पनि आनन्द लिन सकिने गरी निर्माण गरियो।

यहाँसम्म ल्याइपुर्याउँदा झण्डै ८ करोड लगानी परेको छ, गजेन्द्र नेपाल र उनका साथीहरुको । आफूले भोगेको ताडना, सकस र संघर्षको मूल्य त कहिल्यै गरेनन् उनले।

ग्रिन लिभ्सले भूकम्प र नाकाबन्दीको मात्रै अप्ठेरो भोगेन । झण्डै दुई वर्ष कोरोना महामारीका कारण मान्छे त के माखा पनि घुमेन क्याफेमा । त्यो क्षण सम्झँदा गजेन्द्रलाई अहिले पनि अत्यास लाग्छ।

एउटा उद्यमी, व्यवसायीले के भोग्यो के भेगेन ? कसैले हिसाब किताब राखेन । तै पनि ३०, ४० जनालाई प्रत्यक्ष रोजगार दिनसकेको अवस्थाले उनको मनमा मल्हम लगाइरह्यो । राज्यले केही नदिए पनि राज्यलाई कर तिरेर एक नागरिकका नाताले पुर्याएको योगदानले सन्तुष्टि भइरह्यो।

यी धेरै अवस्था भोगेर आउँदा पनि राज्यले अरु त परको कुरा बैंकबाट ऋण लिन सहज बनाइदिने र ब्याजमा केही सहुलियत गरिदिने कुरामा पनि कहिल्यै नसोचेकोप्रति भने उनको चित्त दुखाइ छ।

एउटा व्यवसायीले फाइदा नै कमायो भने पनि त्यो व्यवसायका कारण कम्तिमा दुई चार जनाले रोजगारी पाएको, राज्यले कर उठाएको हुन्छ । जसले अप्रत्यक्ष रुपमा बेरोजगारी न्युनिकरणमा सघाइरहेको हुने उनले बुझेका छन्।

तर राज्यले स्वदेशमै व्यवसाय गर्ने, रोजगार सिर्जना गर्ने र राज्यलाई पनि करमार्फत सहयोग पुर्याउनेको पक्षमा कहिल्यै पनि संवेदनशील भएर सोच्न नसकेकै कारण अहिले युवा पलायनको लाम लामो भएको उनी देख्छन्।

उनी आफूजस्ता उद्यमीहरुको राज्यसँगै धेरै ठूलो अपेक्षा नभएको पनि सुनाउँछन् । गरिखाने वातावरण मात्रै बनाइदिए पुग्छ ।
अनेकथरी कर दस्तुरलाई एकद्वार बनाइयोस्, ऋण लिने प्रक्रिया सहज होस्, ब्याज दर सस्तो होस् भन्ने मात्रै उनको अपेक्षा छ ।

उद्यमी व्यवसायीहरु सबैलाई पैसा बढी भएर लुट्न आएका वर्गको रुपमा नहेरेर स्वदेशमै केही गर्न खोजेका मेहनती, सिर्जनशील युवाको हुन भन्ने आँखाले मात्रै राज्यले हेरिदियो भने धेरै सहज हुने उनी देख्छन्।

अनेकन रापको आरनमा रापिँदै नारायनचौरमा पाहुनाको स्वागतमा पर्खिरहेको ग्रिनलिभ्सप्रति आजसम्म आगन्तुकले देखाएको सदभावप्रति भने उनी सँधै कृतज्ञ छन्।

कलाकार, लेखक, व्यवसायी र युवाहरुले ग्रिन लिभ्सलाई खोजी खोजी आइदिने गरेकोप्रति उनी आभार व्यक्त गर्छन।