Logo
१७ असार २०८२, मंगलबार

‘सइँको घर काँ हो काँ’ भन्दै आए रेखा र धर्मेन्द्र

अक्षरपाटी
२०८० असार ८ , शुक्रबार ११:०६ मा प्रकाशित

काठमाडौं ८ असार। चार दशकअघि रेकर्ड गरेको गीत ‘सइँको घर काँ हो काँ’ पुनः रेकर्ड भएको छ।

गीत संकलन, संगीत र गायनमा ख्याति प्राप्त तथा राजामहाराजाहरूबाट समेत प्रशंसित स्व सरोजगोपाल वज्रचार्य, गायक तथा संकलक बुद्धि परियार र गायिका बाबा राणाले चार दशकअधि सइँको घर काँ हो काँ रेकर्ड गराएका थिए।

पुनः रेकर्ड गराइएको गीतको भिडियो र अडियो सार्वजनिक भएको हो।

बुद्धि परियारका सुपुत्र धर्मेन्द्र सेवानसँग रेखा शाहलाई युगल गाउने सर्तमा पुनः रेकर्डिङको अनुमति दिइएको केही समयपछि सरोजगोपालको असामयिक निधन भएको थियो।

‘मेरी बैनी र छोरासरहका रेखा शाह र धर्मेन्द्र बाबुले यो गीत पुनः रेकर्ड गरी बजारमा ल्याउँदा म भावुक मात्रै बनिनँ, ४० वर्षअघिको समयमा समेत पुगें’, गायिका बाबा राणाले भनिन्।

गीत सार्वजनिक गर्दै गायिका रेखा शाहले भनिन्, ‘सानै उमेरदेखि मैले निकै गुनगुनाउने गीत हो यो। सौभाग्यबस मैले मेरै आवाजमा रेकर्ड गर्न पाएँ। अब यो गीत अर्को पुस्तामा पुस्तान्तरण हुनेमा म ढुक्क छु। सरोजगोपाल भिनाजु र बाबा दिज्यूको आशीर्वाद पक्कै रहनेछ।’

बुवा र अंकलको गीतलाई आफ्नो आवाजमा पुनः रेकर्ड गर्न पाएकोमा गायक धर्मेन्द्र सेवानले अर्को एउटा गीतको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण भएको बताए।

उनले भने, ‘बुवाका गीतहरू क्रमशः यसरी नै पुनः रेकर्ड गरि बजारमा ल्याउनेछु।’

नयाँ रेकर्ड गरिएको गीतमा गोपाल रसाइलीको संगीत संयोजन र भानुभक्त ढकालको रेकर्डिङ ।

स्टुडियो भर्सनमा सार्वजनिक भएको भिडियोमा रेखा शाह र धर्मेन्द्र सेवानले गायक, गायिकाको रूपमा अभिनय गरेका छन्।

भिडियोलाई रूपेश थापले निर्देशन गरेका हुन् भने रेखा शाहले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्।

धर्मेन्द्र सेवान रेखा शाह सरोजगोपाल वज्रचार्य