काठमाण्डौ, २० कात्तिक । भूकम्प प्रभावितहरु चिसोको मारमा पर्न थालेका छन् ।
गएको शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा धेरै असर परेको छ । शुक्रवार रातिदेखि नै प्रभावितहरु घर बाहिर छन् । केहीले टेन्ट, त्रिपाल पाए पनि धेरैजसोले नपाएको गुनासो गरेका छन् । यस्तै, ओढ्ने ओछ्यान नहुँदा चिसो भुइँमा पीडितहरुले रात कटाइरहेका छन् ।
चिसोका कारण सुत्केरी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक बढी समस्यामा परेका छन् । भूकम्प पीडितहरु राहतको पर्खाइमा छन् । खाद्यान्नलगायत राहत नपुग्दा पीडितहरू मर्कामा परेका छन् । चिसोमा रात कटाउन उनीहरूलाई मुस्किल परेको छ ।
सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ । हिजोको मन्त्रिपरिषद् बैठकले पीडितलाई तनि दिनभित्र राहत पुर्याउन निर्देशन दिएको छ । यस्तै, भूकम्पमा परेर ज्यान गुमाएकाका परिवारलाई सङ्घ र प्रदेश सरकारबाट दुई–दुई लाख रुपैयाँ तत्काल दिने तयारी भएको छ । भूकम्पबाट १ सय ५७ जनाको ज्यान गएको पुष्टि भएको छ ।