



धनगढी। दार्चुलामा एक प्रधानाध्यापकलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
व्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालय, सुन्सेराका प्रधानाध्यापक बलदेवसिंह धामीले विद्यालयमै झुन्डिएर आत्महत्या गरेको घटनामा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका–१ का ३२ वर्षीय विक्रमसिंह कुँवर, महाकाली नगरपालिका–२ का ५२ वर्षीय दलिदत्त भट्ट, महाकाली नगरपालिका–५ का ४२ वर्षीय खिमानन्द भट्ट, व्याँस गाउँपालिका–४ का ५७ वर्षीय परमानन्द भट्ट, ३९ वर्षीय पदमराज भट्ट, ४३ वर्षीय नरेन्द्रदत्त भट्ट, ५९ वर्षीय हरिदत्त भट्ट तथा बैतडीको पाटन नगरपालिका–४ का ४० वर्षीय पुष्करराज भट्ट रहेका छन् ।
उनीहरूलाई आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सोही विद्यालयका शिक्षक, स्थानीय नेता तथा निर्माण व्यवसायीसमेत रहेका छन् ।
प्रधानाध्यापक धामीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सुसाइड नोट सार्वजनिक गर्दै विद्यालयमै आत्महत्या गरेका थिए ।
धामीले आफ्नो सुसाइड नोटमा आफूलाई मानसिक रूपमा दबाब दिई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका व्यक्तिहरूलाई नै प्रहरीले पक्राउ गरेको जनाएको छ ।
आत्महत्या पक्राउ



