Logo
१० पुस २०८१, बुधबार

अब अस्थायी आवासको रकम पीडितकै हातमा दिइने

अक्षरपाटी
२०८० मंसीर ११ , सोमबार ०२:११ मा प्रकाशित

काठमाण्डौ, ११ मंसिर । भूकम्प प्रभावित घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न बनेको कार्यविधिलाई केही संशोधन गरेर सरलीकृत गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प प्रभावित घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न बनाइएको ‘भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८०’ लाई केही संशोधन गर्दै सरल बनाइएको हो ।

पहिले लाभग्राहीका लागि अस्थायी आवास निर्माणको रकम बैंक खातामा पठाउनुपर्ने अनिवार्य व्यवस्थालाई संशोधन गरेर त्यो रकम हातैमा दिन मिल्ने गरी कार्यविधि संशोधन गरिएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो । समितिले कात्तिक २६ गते यो कार्यविधि स्वीकृत गरेकोमा भर्खरैकौ बैठकले संशोधन गरेर सरलीकृत गरेको उहाँले बताउनुभयो ।

समितिको बैठकले भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक भवन तथा संरचना स्थायीरूपमा तयार नहुँदासम्म अस्थायी संरचना तयार गरी पठनपाठन, स्वास्थ्य सेवा, सरसफाइ तथा खानेपानीलगायत नागरिकलाई आवश्यक पर्ने सबै सार्वजनिक सेवा सञ्चालन गर्ने÷गराउने सम्बन्धमा पनि आवश्यक निर्णय गरेको छ ।