Logo
१२ वैशाख २०८१, बुधबार

डेंगु नियन्त्रणका लागि बल्ल तयारी गर्दै स्वास्थ्य मन्त्रालय

अक्षरपाटी
२०७९ भदौ २० , सोमबार ०१:०९ मा प्रकाशित

काठमाडौं। यस वर्ष डेंगु ७२ जिल्लामा फैलिइसकेको छ। गएको असारदेखि फैलिन थालेको डेंगु संक्रमणले१० जिल्ला भयावह बनेका छन। अस्पतालमा बिरामीको चाप बढेको छ।

टेकुअस्पतालदेखि देशका अधिकांस अस्पतालमा बिरामीले उपचारका लागि ठाउँ नपाउने अवस्था सुरु भइसकेको छ। तर, यसको रोकथामको प्रमुख जिम्मेवारी बोकेको निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने बल्ल तयारीका लागि जुर्मुराउँदैछ।

डेंगु फेलिएको तीन महिना हुनलाग्दा मन्त्रालयले बल्ल त्यसको रोकथाममा जुट्न सरकारी अस्पताल र स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ।

उपत्यकाका सरकारी अस्पताल र तीनवटै जिल्ला स्वास्थ्य कार्यालय प्रमुखलाई मन्त्रालयमा बोलाएर डेंगु नियन्त्रणमा लाग्न निर्देशन दिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरका अनुसार सबैभन्दा बढी प्रभावित जिल्ला छुट्याएर नियन्त्रणमा लाग्ने निर्णय बैठकले गरेको छ।

जबकी यो अवधिमा कतिपय निजी अस्पतालमा धेरै बिरामीले जोखिम मोलेका खबरहरु छन्, यद्यपि त्यसलाई रेकर्डमा ल्याइएको छैन। ‘हामीले तयारी गर्न बाँकी छ, तर डेंगु सोचेभन्दा तीव्र गतिमा फैलिरहेको छ,’ उनले स्वीकारे, ‘सरकारी र निजी अस्पताल तथा जिल्लास्थित स्वास्थ्य कार्यालयहरूलाई यसको नियन्त्रणमा जुट्न भनिसकेका छौँ।’

स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालले मात्रै डेंगुका बिरामीको चाप थेग्न नसक्ने स्वीकारे पनि यति लामो अवधि हुँदासम्म नियन्त्रणका लागि तयारी भने गरेको देखिएन।

मंगलबार निजी अस्पतालका प्रमुखलाई छलफलका लागि बोलाइएको छ। आइतबारको बैठकमा सिभिल अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, ख्वपः अस्पताललगायत स्वास्थ्य कार्यालयका प्रमुखलाई बोलाइएको थियो।