Logo
१४ वैशाख २०८१, शुक्रबार

मकवानपुरमा जापानी इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु, डेंगु नियन्त्रण बाहिर

अक्षरपाटी
२०७९ भदौ २१ , मंगलबार ०८:०९ मा प्रकाशित

मकवानपुर। मकवानपुरमा जापानी इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सङ्क्रमणबाट जिल्लाको बकैया गाउँपालिका–७ का दुई जना र हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका एक जनाको मृत्यु भएको छ।

बागमती गाउँपालिका–४ बस्ने वर्ष ४८ की सुस्मिता गोले उक्त रोगको सङ्क्रमण्बाट गम्भीर बिरामी भई थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको र उनको अहिले उपचार भइरहेको छ।

यसैगरी, मकवानपुरमा अझै पनि डेङ्गुको प्रकोप नियन्त्रणभन्दा बाहिर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

आज अपराह्नसम्म जिल्लाको मनहरि गाउँपालिकाको विभिन्न वडा र हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा गरी सात सय ५० जना डेङ्गु रोगीको पहिचान भएको र उनीहरूलाई तत्काल उपचारको व्यवस्था मिलाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले जानकारी दिए।

उनका अनुसार, डेङ्गु सङ्क्रमित भएका गम्भीर प्रकृतिका बिरामीलाई काठमाडौंको त्रिभुवन शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेको बताए।

केही सामान्य प्रकारका डेङ्गु रोगका बिरामीलाई हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको हेटौँडा उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईँले जानकारी दिए।

उनका अनुसार, हेटौँडा उपमहानगरपालिकाको वडा नम्वर ४ र ५ मा हालसम्म सात सय डेङ्गु रोगका बिरामी फेला परेका छन्।

जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकामा हेटौँडा नगरको १ देखि १९ वटै वडामा र मनहरि गाउँपालिकाको विभिन्न वडामा समेत डेङ्गु रोग नियन्त्रणका लागि प्रत्येक वडाको स्थानीय घरमा डेङ्गु रोगविरुद्ध जनचेतना अभियान र लामखुट्टेको लाभा नष्ट गर्ने कार्यका लागि आवश्यक स्वास्थ्यकर्मीलाई १० दिनसम्म खटाइएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत तिवारीले बताए।