Logo
१६ चैत्र २०८०, शुक्रबार

ओझेलमा लहानको देवीदह

अक्षरपाटी
२०७९ भदौ २१ , मंगलबार ०१:०९ मा प्रकाशित

गोलबजार। सिरहा लहान नगरपालिका–१७ दौलतपुर, बलानसेरमा अवस्थित देवीदह आन्तरिक विवादका कारण ओझेलमा परेको छ।

पूर्व–पश्चिम राजमार्गबाट करिब सात किलोमिटर उत्तरमा पर्ने यो ठाउँ सिराहा र सप्तरी जिल्लालाई छुट्याउने बलान नदीको किनारामा छ।

देवीदह सामुदायिक वन उपभोक्ता समूहमार्फत संरक्षणमा जुटेका स्थानीय बासिन्दाबीचको आन्तरिक विवाद कारण यस दहको संरक्षणमा ध्यान पुग्न सकेको छैन। अहिले दहभरि फोहर थुप्रिएको छ भने डुङ्गा बिग्रिएर मिल्किएको छ र कोष रित्तो भएको छ। दहसम्म पुग्ने मुख्य बाटो हिलाम्मे छ भने बनमारा झारले दहको डिल ढाकेको छ।

दह घुम्न आएका भगवानपुर गाउँपालिका–४ का निराजन यादवलाई यहाँको अवस्था हेर्दा निकै दुःखी बनायो। उनी भन्छन्, “पहिला हामी यहाँ घुम्न आउँदा मानिसको घुइँचो थियो। दहको डिल सफा थियो तर अहिले झाडी उम्रेको छ र मुख्य आकर्षण डुङ्गा पनि चलेले छैन।”

दैनिक ५०० पर्यटक पुग्ने देवीदहमा अहिले फाट्टफुट्ट मात्रै पर्यटक पुग्ने गरेको स्थानीय अरुण सिंहले बताए।

देवीदह करिब ६ बिघा क्षेत्रफलमा फैलिएको छ। प्रथम राष्ट्रपति डा रामवरण यादवको पालामा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रमअन्तर्गत यस दहको सौन्दर्यीकरण गरिएको थियो।

नेपाली सेनाले यस दहलाई २०७२ असार ३ गते देवीदह सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरेको थियो। दह सञ्चालनका विषयमा उपभोक्ता समूहका सदस्यबीच विवादका कारण यसको संरक्षणमा ध्यान जान सकेको छैन। देवीदह सञ्चालनसम्बन्धी समस्या समाधान गर्न स्थानीय सरकारले कुनै चासो नराखेको स्थानीयवासीको गुनासो छ।

केही वर्षअघिसम्म लहान बजारमा आन्तरिक पर्यटकको गतिविधि बढाउन पनि यस दहको अहम् भूमिका थियो। देवीदह नजिकै निस्कने पानीको मूलमा नुहाउँदा शरीरमा रहेको घाउ खटिरा निको हुने धार्मिक विश्वास रहिआएको पाइन्छ।

वर्षैंभरि निस्कने यस मूलको पानीलाई पछि व्यवस्थित गर्दै दह बनाइएको थियो। उक्त दहलाई नै पछि देवीदह भनी नामकरण गरियो।