Logo
७ वैशाख २०८१, शुक्रबार

शिक्षा क्षेत्रमै सिकाइको अभाव छ : महामन्त्री थापा

अक्षरपाटी
२०७९ भदौ १८ , शनिबार ०५:०९ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको शिक्षा क्षेत्रमा सिकाइको अभाव भएको बताएका छन्।

थापाले आज बूढानीलकण्ठ नगरपालिका–८ स्थित भ्याली पब्लिक माध्यमिक विद्यालयको समझदारीपत्रमा हस्ताक्षर समारोहमा विद्यालयको भौतिक तथा अन्य किसिमको सुधार भएको तर शिक्षण सिकाइको अझै पनि कमी रहेको बताए।

उनले निजी तथा सरकारी दुवैखाले विद्यालयमा शैक्षिक पद्धतिको विकास गर्नुपर्ने धारणा व्यक्त गर्दै विद्यालयले ठूला भौतिक संरचना निर्माण गरेर मात्र नहुने र नयाँ पुस्तालाई फरक ढङ्गले अध्ययन गराउन आवश्यक रहेको धारणा राखे।

“कक्षामा विद्यार्थी छन् तर राम्रो सिकाइ भएको छैन । कक्षाभित्र कसरी सिक्ने भन्ने कुरालाई ध्यान दिनुपर्छ”, महामन्त्री थापाले भने।

कार्यक्रममा बूढानीलकण्ठ प्रमुख मीठाराम अधिकारीले देश परिवर्तन गर्न शिक्षाको भूमिका महत्वपूर्ण हुने बताए।

भ्याली पब्लिक विद्यालयले काठमाडौँ विश्वविद्यालय, इन्सपायर एजुकेशन फाउन्डेसन, आइएसओ र लाइब्रेरी डेभलपमेन्ट फोरमसँग शैक्षिक सुधार गर्न समझदारी गरेको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले भ्याली पब्लिक विद्यालयले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए।

गगन थापा शिक्षा