Logo
१४ वैशाख २०८१, शुक्रबार

अरुण तेस्रो : ‘पटेल इन्जिनियरिङ’ले साढे ६ करोड नदिएको भन्दै पेटी ठेकेदारको रुवाबासी

अक्षरपाटी
२०७९ भदौ २२ , बुधबार ०५:०९ मा प्रकाशित

काठमाडौं। भीम कर्णाली हाइड्रो कन्ट्रक्सन कम्पनीका सञ्चालक दिनेशबहादुर शाहीले पटेल इन्जिनियरिङ कम्पनीले साढे ६ करोड रुपैयाँ नदिएको खुलासा गरेका छन्।

उनले अरुण तेस्रो जलविद्युत आयोजनाको ठेक्का पाएको पटेल इन्जिनियरिङ कम्पनीबाट आफूले पेटी ठेकेदारको रुपमा काम गरेको र सो कम्पनीले साढे ६ करोड रुपैयाँ नदिएर बर्बाद बनाएको गुनासो गरे।

बुधबार पत्रकार सम्मेलन गरी शाहीले आफ्नो समस्याबारे प्रधानमन्त्री, गृहमन्त्री तथा ऊर्जा मन्त्रालयमा हारगुहार गर्दा पनि कतैबाट राहत नपाएको रुँदै भने। ‘सबै मन्त्रालयले यसमा हामी केही गर्न नसक्ने भन्दै पन्छिए । मलाई आफै समस्या सल्टाउन उल्टै सल्लाह दिए’, शाहीले भने।

शाहीले जिल्ला प्रशासन कार्यालय संखुवासभाले ३÷४ पटक दुवै पक्षलाई बोलाएर कागज गरेपनि कम्पनीले कार्यान्वयमा फिटिक्कै चासो नदिएको सुनाए।

उनले भने, ‘पुस महिनामा कागज गरेर ३ किस्तामा दिन्छु भनेको हो, आजसम्म दिएको छैन। संखुवासभाका सबै वृद्धिजिवीलगायत हाइड्रोपावरको अध्यक्षलाई पनि सबै बताए तर कसैले केही गरेनन्।’ उनले संखुवासभाको प्रमुख जिल्ला अधिकारीले सरकारको विषय भएकोले आफूले केही गर्न नसक्ने बताएको उल्लेख गरे।

साथीहरुसँग पैसा लिएर काम अघि बढाएको उल्लेख गर्दै उनले साढे ३ करोड रुपैयाँ तिर्नुपर्ने ऋण रहेको सुनाए। पैसा माग्दा पट्टेल कम्पनीले आज, भोलि दिन्छु भन्दै आफूलाई झुलाउँदै गएको उनको भनाइ थियो।

आफूले तिर्नुपर्ने रकम दिन साथीहरुलाई चेक दिएको सुनाउँदै सोही चेक बाउन्स भएपछि आफू प्रहरीकोमा जान परेको समेत उनले बताए। आफूले कन्ट्रयाक पेटी ठेकेदारी काम गरेको उल्लेख गर्दै पैसा तिर्नुपर्नेहरुले धम्की दिन थालेको बताए।

शाहीले भने, ‘साथीहरुले फोन गर्नुहुन्छ, नउठाए मेसेन्जरबाट धम्की दिनुहुन्छ, फोन उठाए फोनबाटै धम्की दिनेगरेका छन्, कतै जाने ठाउँ नभएर मिडियामा आएको हुँ। चेक बाउन्स भएपछि प्रहरीले २७ गतेसम्म पैसा भुक्तान नगरे जेल जानुपर्ने भनिरहेको छ । कसरी तिरुँ खै?’

उनले आफु प्रेसरको बिरामी भएको समेत सुनाए। शाहीले राज्यलाई मात्रै राजस्व तिर्न १ करोड ७ लाख रहेको रुँदैरुँदै सुनाए। पटेल कम्पनीले खुलेआम ‘तेरो पैसा दिन्न’ भनेको उनले गुनासो गरे। शाहीका आफन्त अनिल योगीले पटेल कम्पनीले शाहीलाई ६ करोड रुपैयाँ नदिएर जेल जान बाध्य बनाउन खोजेको टिप्पणी गरे।

शाहीले प्रधानमन्त्री कार्यालयदेखि विभिन्न निकायमा गुहार माग्दा पनि अहिलेसम्म पैसा नपाएको उनले बताए। अनिलले विदेशीलाई ठेक्का दिएर नेपालका पेटी ठेकेदारहरुले सास्ती पाएको भन्दै गुनासो गरे।

संखुवासभाको मकालु गाउँपालिकामा रहेको अरुण तस्रो जलविद्युत आयोजनाको क्षमता ९ सय मेगावाट छ। आयोजनाको कुल लागत १ खर्ब ४ अर्ब रुपैयाँ रहेको र निर्माण कार्य ५ वर्षमा सकिने जनाइएको छ।

भारतको सतलज हाइड्रो कम्पनीले आयोजनाको ठेक्का पाएको आयोजनाको नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा शिलन्यास गरेका थिए।

पटेल इन्जिनियरिङ भीम कर्णाली हाइड्रो कन्ट्रक्सन