Logo
१३ वैशाख २०८१, बिहीबार

काभ्रेमा डेंगु संक्रमण रफ्तारमा

अक्षरपाटी
२०७९ भदौ २३ , बिहीबार ०४:०९ मा प्रकाशित

काभ्रे। जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ।

चार दिनअघि ४२ सङ्क्रमित रहेको काभ्रेमा दोब्बर अर्थात् ८० जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।

गत असार दोस्रोसाता पाँचखाल नगरपालिकामा पहिलोपटक देखिएको डेङ्गुको सङ्क्रमण हाल ११ स्थानीय तहका ४० जनामा पुष्टि भैसकेको हो।

“चार दिनको अवधिमा शतप्रतिशत सङ्क्रमित बढेका छन्, यो गति केही हप्ता रहनसक्छ”, कार्यालयप्रमुख डा पुरुषोत्तम सेढाईंले भने।

उनका अनुसार सङ्क्रमितमध्ये महिला र पुरुषको सङ्ख्या बराबर नै छ। खानीखोला र महाभारत गाउँपालिकामा भने हालसम्म सङ्क्रमण देखिएको छैन।

समयमै उपचार पाउने सङ्क्रमितलाई करिव पाँचदेखि सात दिनपछि निको हुने दर पनि बढिरहेकाले जिल्लाका ११ स्थानीय तहमा सङक्रमण तीव्र रुपमा बढेको घटनाक्रमले देखाएको कार्यालय प्रमुख डा सेढाईंले बताए।

उनले भने, “बर्षा भइरहेकाले लामखुट्टे अझै रहन्छ, यसकारण स्थानीयस्तरमा विशेष सावधानी अपनाउन सेचतना गराइएको छ।” उनका अनुसार सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखामार्फत सम्भावित क्षेत्रमा रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’ गर्ने अभियानमा रहेको जनाएको छ।

यसैक्रममा सबै स्थानीय तहले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानलाई निरन्तरता दिइरहेको उनले जानकारी दिए। अभियानमा स्थानीयस्तरका विद्यार्थीलाईसमेत परिचालन गरिएको जनाइएको छ।

अधिक सङ्क्रमित भएको स्थान तथा नयाँ स्थानमा प्रयोगशालाद्वारा नै परीक्षण गर्दै आइएको छ। डेङ्गु रोग विरुद्धको खोप नभएका कारण ‘सर्च एण्ड डिस्ट्रोय’नै प्रमुख उपाय रहेको डा सेढाईंले बताए।

उनका अनुसार काभ्रे हाल डेङ्गु रोगको निकै जोखिमयुक्त जिल्ला हो। यसकारण डेङ्गुको सङ्क्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले स्थानीयस्तरका ‘र्‍यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिरहेका हुन्।

तीन वर्षपछि पाँचखालमा पहिलो डेङ्गुको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको थियो। जिल्लामा यसअघि विसं २०७६ भदौमा छ जनामा डेङ्गु संक्रमण देखिएको थियो।

काभ्रे डेंगु