Logo
२८ असोज २०८२, मंगलबार

कांग्रेसको घोषणापत्र जिम्मेवार सोच र भरोसाको सङ्कल्प हुनेछ : महामन्त्री शर्मा

अक्षरपाटी
२०७९ भदौ २४ , शुक्रबार ०९:०९ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले तयार गर्ने घोषणापत्रमा जिम्मेवार सोच एवं भरोसा समेटिने बताए।

सुन्दरीजल, वीपी सङ्ग्रहालयमा भएको १०९औँ वीपी जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले कांग्रेसको घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रमलाई स्थान नहुने उल्लेख गरे।

आगामी आमनिर्वाचन कांग्रेसको घोषणापत्र निर्माण समितिको संयोजक रहेका महामन्त्री शर्माले भने, “घेरो मात्र बाँकी रहेको टोपी लगाएका नागरिकदेखि फाटेको धोती लगाएका नागरिकसम्मको भावना घोषणापत्रले समेट्ने छ, कोही अझै शिक्षाबाट बञ्चित किन ? ‘ड्रपआउट’ कहिलेसम्म ? उच्च शिक्षा लिएर पनि बेरोजगार बस्नुपर्ने बाध्यता किन ? विकल्प के र कसरी ? घोषणापत्र त्यसमा प्रबिस्ट हुनेछ।”

कांग्रेसको घोषणापत्र निर्माणकार्य अब छिट्टै सुरु गर्ने जानकारी गराउँदै उनले पार्टीको ऐतिहासिक निरन्तरतालाई अब नवीनतामा लैजाने सङ्कल्प घोषणापत्रले बोक्ने बताए।

स्थापनाकालमा वीपी कोइरालाले लेख्नुभएको दस्तावेज, विसं २०१५ को घोषणापत्रलगायत पछिल्लो अवधिसम्मका दस्तावेजहरूको गहिरो अध्ययन अबको घोषणापत्र निर्माण गरिने महामन्त्री शर्माले उल्लेख गरे।

नेपाली कांग्रेस विश्वप्रकाश शर्मा