Logo
१६ चैत्र २०८०, शुक्रबार

वीरेन्द्रनगर डेंगुको जोखिममा

अक्षरपाटी
२०७९ भदौ २४ , शुक्रबार ०९:०९ मा प्रकाशित

वीरेन्द्रनगर। कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर डेङ्गु रोगको जोखिममा छ। सुर्खेतका नौ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका डेङ्गुको उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले यस वर्ष सुर्खेतमा एक सय पाँच जना डेङ्गु रोगका बिरामीमध्ये वीरेन्द्रनगरभित्रका मात्रै ७५ जना रहेको बताए। प्रमखु गिरीका अनुसार यो तथ्यांकबाट नै वीरेन्द्रनगर डेङ्गुको जोखिममा रहेको पाइएको हो।

वीरेन्द्रनगरका १६ वटा वडामध्ये सबैभन्दा धेरै बिरामी वडा नं ४ मा छन् । वडा नं ४ मा १५, वडा नं ३ मा १४, वडा नं २ मा १० र वडा नं ६ र ७ मा सात÷सात जना बिरामी छन्।

डेङ्गु रोगविरुद्ध खोप नभएको र खास उपचार पनि नभएको हुँदा यसलाई रोक्ने प्रभावकारी उपाय नै पानी जम्न नदिनु, यसको लार्भा नष्ट गर्नु नै उत्तम रहेको जनस्वास्थ्य शाखा प्रमुख गिरी बताउछन्।

वीरेन्द्रनगरमा डेङ्गु रोगको जोखिम बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले यसको न्यूनीकरणका लागि सर्वपक्षीय सुझावसमेत मागेको छ।

डेंगु वीरेन्द्रनगर