Logo
२४ वैशाख २०८१, सोमबार

नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौता

अक्षरपाटी
२०७९ भदौ २७ , सोमबार ०७:०९ मा प्रकाशित

काठमाडौं। नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुबीच द्विपक्षीय वार्तामा भएको सहमतिको आधारमा आज ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।

सम्झौतापत्रअनुसार दुवै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्ररूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन्।

यसैगरी दुवै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पु¥याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्ने सम्झौतापत्रमा उल्लेख छ। दुवै पक्षले नेपाल र जनवादी गणतन्त्र चीनका दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिनेछन्।

दुवै पक्षले संसदीय मैत्री समूहलाई उनीहरूको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्ने र साथ दिनेछन् । दुई व्यवस्थापिकाबीच सद्भाव र समझदारी प्रवद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहन गर्नेछन्।

दुवै पक्षले एकअर्काको विधायिकी, सुपरीवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकारबीच सहमति भएबमोजिम ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मार्फत समेत दुई राष्ट्रहरुबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने सम्झौतापत्रमा उल्लेख छ।

हस्ताक्षर गरेको मितिदेखि लागू

दुवै पक्ष साझा हितको विषयमा ‘इन्टर पार्लियामेण्टरी युनियन’ लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय सङ्गठनहरूको खाकाअन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएका छन्। यसैगरी यो समझदारीपत्र दुवै पक्षले हस्ताक्षर गरेको मितिदेखि लागू हुनेछ र पाँच वर्षको समयावधिसम्म मान्य रहने सम्झौता भएको छ।

साथै कुनै पक्षले यो समझदारीपत्र समाप्त हुने मितिभन्दा ६ महिना अगावै लिखितरूपमा यो समझदारीपत्र अन्त्य गर्ने सम्बन्धमा सूचना दिएकोमा बाहेक अर्को क्रमिक समयावधिको लागि स्वतः नवीकरण हुने सम्झौतापत्रमा उल्लेख छ।

नेपाल र जनवादी गणतन्त्र चीनबीच सहर्ष कायम रहेको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने तथा दुई राष्ट्र र जनताको आपसी हितका लागि दुवै राष्ट्रहरुबीच सहयोगको आदानप्रदान र आपसी विश्वासलाई अझ गहन तुल्याउने सम्झौतापत्रको उद्देश्य रहेको छ।

सन् २०१९ को अक्टोबरमा भएको राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अवसरमा नेपाल सरकार र जनवादी गणतन्त्र चीन सरकारबीच विकास र समृद्धिका लागि चिरकालसम्म मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई सहयोगको रणनीतिक साझेदारीमा अभिवृद्धि गर्ने गरी भएको निर्णयलाई पुनः पुष्टि गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

अन्तरसंसदीय आदानप्रदान र राज्य राज्यबीचको सहयोगात्मक सम्बन्धको महत्वपूर्ण अंशको रुपमा रहेको तथा यसले आपसी समझदारी र विश्वास अभिवृद्धि गर्न साथै दुई राष्ट्रहरुबीच सहमति विस्तार गर्न मद्दत गर्ने कुरालाई आत्मसात गर्ने सम्झौतापत्रमा उल्लेख छ।

विवाद उत्पन्न भए अङ्ग्रेजीप्रति मान्य हुने

काठमाडौमा नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषाको दुई दुई सक्कल प्रतिमा हस्ताक्षर गरिएको र सबैप्रति समानरूपले आधिकारिक रहेको र कुनै विवाद उत्पन्न भएमा अङ्ग्रेजी प्रति मान्य हुने सम्झौतापत्रमा उल्लेख छ।

सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली झान्शु नेपालको औपचारिक भ्रमणमा आज काठमाडौं आइपुगेका हुन। उनी विशेष विमानबाट आज अपराह्न काठमाडौं आएका थिए। अध्यक्ष लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गरेका थिए।

नेपाल-चीन सम्झाैता नेशनल पिपुल्स कंग्रेस