Logo
१९ वैशाख २०८१, बुधबार

नेपालगञ्जमा छोरीलाई उच्च शिक्षा पढाउन २० लाख बजेट

अक्षरपाटी
२०७९ असोज ४ , मंगलबार ०५:०९ मा प्रकाशित

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकाले छोरीलाई उच्च शिक्षासम्म पढाउन बजेट विनियोजन गरेको छ।

गरिबी र अशिक्षाका कारण बालविवाहका साथै छोरीमाथि अन्य हिंसात्मक घटना भइरहेको जनाउँदै उपमहानगरपालिकाले छोरी पढाउन चालु आर्थिक वर्षका लागि २० लाख पचास हजार बजेट विनियोजन गरेको हो।

उपमहानगरपालिकाका अनुसार ‘बालिका शिक्षा तथा बालविवाह न्यूनीकरणका लागि विनियोजित रकम केही दिनमा सूचना जारी गरेर गरिब, विपन्न, अल्पसङ्ख्यक, जनजाती, आदिवासी बालिकालाई छनोट गरिनेछ।

छनोटमा परेका बालिकाको मुद्दति खाता खोलेर पैसा जम्मा गरिने छ। त्यो पैसा उसले २० वर्ष पुगेपछि निकाल्न पाउने व्यवस्था गरिएको छ। त्यतिबेला सम्म पढाइमा निरन्तरता हुनुपर्दछ।

उपमहानगरपालिकाले राखिदिएको पैसा उसले २० वर्षपछि निकालेर विवाहमा खर्च गर्न पनि सक्छ र पढाइमा निरन्तरता दिन पनि सक्ने नियम छ। उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखाका प्रमुख शोभा शाहका अनुसार निर्देशिकामा बालिकाको खातामा २५ हजार राखिदिने ब्यवस्था गरिएको छ।

उनका अनुसार गत वर्षको १० लाख ५० हजारमा यो वर्ष १० लाख थपेर कार्यक्रमलाई साढे २० लाखको बनाइएको छ। यसपाली पनि वडाबाट केही, प्रमुख र उपप्रमुख केही बालिका छनोट गर्ने रणनीतिलाई अघि सारिएको छ।

नेपालगञ्जमा बालविवाह बढी नै छ। बालिकालाई ५ र ६ कक्षासम्म पढाउने र विवाह गरिदिने गरेको पाइन्छ। यद्यपि, पछिल्लो दिनमा खुलेयाम हुने बालविवाह रोकिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा सल्यानी बङ्गलामा कन्या माविसमेत सञ्चालनमा ल्याइएको छ। त्यहाँ गरिब, विपन्न, मधेसी, मुस्लिम समुदायका बालिकाको बाक्लो उपस्थिति छ।

बाँके जिल्लामा यस्तो अभियान डुडुवा गाउँपालिकाले यसअघि नै सञ्चालन गरिसकेको छ। डुडुवामा छोरी जन्मिनेवित्तिकै खाता खोलेर पालिकाले पैसा राखिदिन्छ। जसलाई २० वर्ष पुगेपछि मात्रै निकाल्न पाइन्छ।