



धनगढी । नेपाल प्रहरीका प्रदेश तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयहरूको भदौ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पहिलो भएको छ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको भदौ महिनाको कार्यसम्पादन ‘रिपोर्ट कार्ड’अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले ३८६ पूर्णाङ्कमा ३३९.९८ अंक प्राप्त गरेको छ। यो कुल पूर्णाङ्कको ८८.०८ प्रतिशत हो।
कार्यसम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दोस्रो र कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर तेस्रो भएका छन्।
त्यसैगरी मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुर चौथो, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी पाँचौँ, गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा छैटौँ र कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत सातौँ स्थानमा रहेका छन्।
भदौ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा सबैभन्दा पछाडि परेको छ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको रिपोर्ट कार्डमा प्रदेश प्रहरी कार्यालय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई कार्यसम्पादनका आधारमा ‘क’ श्रेणीमा वर्गीकरण गरिएको छ।
मूल्याङ्कनमा विभिन्न प्रदेश तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयहरूको कार्यसम्पादनलाई तोकिएका सूचकका आधारमा तुलना गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल प्रहरी

