Logo
९ असोज २०८३, शुक्रबार

भारी वर्षाको पूर्वानुमानपछि गण्डकीका जलविद्युत् आयोजना ‘हाइ अलर्ट’मा

अक्षरपाटी
२०८३ असोज ९ , शुक्रबार १२:०९ मा प्रकाशित

काठमाडौँ । असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना देखिएपछि गण्डकी बेसिनका जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा उच्च सतर्कता अपनाइएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले गण्डकीसहित देशका विभिन्न क्षेत्रमा नदी तथा स–साना खोलामा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम औँल्याएपछि ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले पूर्वतयारी तीव्र पारेका हुन्।

बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनमा कोशी, नारायणी, बागमती, कर्णाली, कमला र ती नदीका सहायक नदीमा जलसतह सतर्कता तह नजिक पुग्न सक्ने जनाएको छ। विशेषगरी गण्डकी क्षेत्रमा केही नदीको बहाव उल्लेख्य बढ्ने तथा विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको पूर्वानुमान गरिएको छ।

बुलेटिनअनुसार आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुरदेखि काठमाडौँ उपत्यका हुँदै पश्चिमका विभिन्न जिल्लासम्मका स–साना नदीमा बहाव बढ्ने सम्भावना छ।

गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा भने स–साना नदी तथा खोलामा बहाव बढेर आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।

यही जोखिमलाई ध्यानमा राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले गण्डकी बेसिनमा रहेका जलविद्युत् आयोजनालाई उच्च सतर्कतामा राखेको हो।

विभागका महानिर्देशक सागरराज गौतमका अनुसार नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका आयोजना तथा निजी क्षेत्रबाट सञ्चालित आयोजनालाई मौसमको निरन्तर निगरानी गर्दै आवश्यक सुरक्षा उपाय अपनाउन भनिएको छ।

प्राधिकरणले आफ्ना सबै आयोजनालाई मौसमको अवस्था र बाढीसम्बन्धी सूचना निरन्तर लिइरहन तथा जोखिमअनुसार सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ। निजी क्षेत्रका आयोजनामा भने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)मार्फत समन्वय भइरहेको छ।

बिहीबार साँझ बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीबाट भएको क्षतिबाट पाठ सिक्दै सम्भावित जोखिम क्षेत्रमा रहेका जलविद्युत् आयोजना र विद्युत् पूर्वाधारको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका थिए।

भोटेकोशीको क्षतिपछि पूर्वतयारीमा जोड

यसअघि भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट जलविद्युत् आयोजना, विद्युत् पूर्वाधार र सबस्टेसनमा ठूलो क्षति पुगेपछि विद्युत् प्रणालीमा करिब १० प्रतिशत बिजुली बाहिरिएको थियो।

त्यसबाट पाठ सिक्दै सरकारले सम्भावित विपद्मा क्षति न्यूनीकरणका लागि पूर्वसूचना, पूर्वतयारी र जोखिमयुक्त संरचनाको सुरक्षालाई प्राथमिकतामा राखेको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताए।

उनका अनुसार मौसम तथा बाढीको अवस्था निरन्तर निगरानीमा राखेर जोखिम देखिएका स्थानमा समयमै आवश्यक सुरक्षा उपाय अपनाउने तयारी गरिएको छ।

महाशाखाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदी तथा खोला आसपास नजान, मौसम तथा बाढीसम्बन्धी सूचना नियमित हेर्न र स्थानीय प्रशासनले जारी गर्ने सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ।

भोटेकोशी विपद्पछि पहिलोपटक ठूलो वर्षाको नयाँ प्रणालीसँगै गण्डकी क्षेत्रमा जलविद्युत् पूर्वाधारको सुरक्षा चुनौती बढेकाले आयोजना सञ्चालक, सुरक्षा निकाय र स्थानीय प्रशासनबीच निरन्तर समन्वयलाई सरकारले प्राथमिकतामा राखेको छ।

बाढीवर्षा