Logo
११ वैशाख २०८१, मंगलबार

म्यान्माको विद्यालयमा हवाई आक्रमण, तेह्र जना मारिए

अक्षरपाटी
२०७९ असोज ४ , मंगलबार ०५:०९ मा प्रकाशित

एजेन्सी। उत्तर–मध्य म्यान्मास्थित एक विद्यालय र गाउँमा सेनाले हेलिकप्टरबाट आक्रमण गर्दा सात जना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ।

एक जना विद्यालय प्रशासक र अर्का एक जना सहायताकर्मीका अनुसार म्यान्मामा प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूलाई सहयोग गर्नेहरूमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्दोष सर्वसाधारण मारिने गरेका छन्।

गत शुक्रबार सागिङ क्षेत्रको ताबायिनमा ती बालबालिका मारिएका हुन्। प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई अपदस्थ गरेर सेनाले सत्ता कब्जा गरेपछि भएको बालबालिकाको यो हताहती सबैभन्दा ठूलो हो।

सेनाले शासन कब्जा गरेपछि जनतस्तरमा देशव्यापीरूपमा अहिंसात्मक विरोध प्रारम्भ भएपछि सैनिक र प्रहरीले घातक कारबाही थाल्दा शहर र गाउँमा सशस्त्र प्रतिरोध जारी छ।

राष्ट्रसङ्घीय बालकोषको पछिल्लो प्रतिवेदनअनुसार सागिङमा सेनाले भीषण कारबाही गरेको छ, जहाँ केयौँ गाउँ जलाइएका थिए। सैनिक कारबाहीका कारण त्यहाँबाट झण्डै पाँच लाख सर्वसाधारण विस्थापित भएका छन्।