Logo
१६ चैत्र २०८०, शुक्रबार

पर्यटक लोभ्याउँदै गाईघाट झरना

अक्षरपाटी
२०७९ असोज ६ , बिहीबार ०९:०९ मा प्रकाशित

बागलुङ। बागलुङको गलकोट र ताराखोलाको संगमस्थलमा रहेको गाईघाट झरनाले पर्यटक लोभ्याउन थालेको छ। कहिल्यै धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ।

ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहेको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ।

गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यो झरना अवलोकन गरेको स्थानीयको भनाइ छ। झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताए। उनले गाउँपालिकाले अझै बढी पर्यटक भित्र्याउनका लागि झरना वरपर थप पूर्वाधार निर्माण गर्नुपर्ने बताए।

घर्तीले चार वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले दैनिक दुई बढी पर्यटक आउने गरेको सुनाए।

‘पहिला यो झरना ओझेलमा थियो, ताराखोला आउने र ताराखोलाबाट बजार झर्नेले मात्रै यो झरना देख्ने गर्थे, बाहिरी मान्छे आउँदैनथे, अहिले धेरै मान्छे आउन थालेका छन्, यसले स्थानीयलाई उत्साहित बनाएको छ’, उनले सुनाए।

वार्षिक करिब २२ हजार भन्दाबढी पर्यटक भित्रिने गरेको भन्दै यस वर्ष लामो वर्षा हुँदा कम आएको उनले बताए।

‘यस्तो ठाउँमा पर्यटक आउलान भन्ने त हामीले सोचेका थिएनौँ तर यति धेरै पर्यटक आउन थालेकी, झरनाको फेद त कहिल्यै पनि खाली भएन, सबै भरिभराउ, यहाँ खाजा खाने र आराम गर्ने स्थल निर्माण गर्नसके अझै बढीलाई भित्र्याउन सकिन्थ्यो होला’, घर्तीले भने।

गुल्मीको भुवाचिदीबाट घुम्न आउनु भएका आकाश पौडेलले सामाजिक सञ्जालमा गाईघाट झरनाको फोटो देखेको र निकै सुन्दर लागेर घुम्न आएको बताए।

‘यसभन्दा अगाडि मेरा साथीहरु घुम्न आएका थिए, उनीहरुले राम्रो राम्रो फोटो खिचेर लगेका थिए, मैले पनि सामाजिक सञ्जालमा धेरै फोटो देखेको थिएँ, त्यही भएर घुम्न आएको निकै सुन्दर रैछ झरना, निकै आनन्द आयो घुम्न’, उनले भने।

ताराखोला गाउँपालिका–१ का अध्यक्ष यमबहादुर श्रीसले आगन्तुकलाई आकर्षित गर्नका लागि झरनाको फेदमा पौडिने पोखरी, त्यस वरपर बगैँचा र विश्रामस्थल निर्माण गरेको बताए।

‘झरना आकर्षक छ, जनप्रतिनिधिका रुपमा आएदेखि यसको विकास र प्रवद्र्धनमा लागेका थियौँ, अहिले पनि लागि रहेका छौँ’, अध्यक्ष श्रीसले भने, ‘झरना वरपर बगैँचा निर्माण गरेका छौँ, फेदमा पौडी खेल्न मिल्ने पोखरी बनाएका छौँ, अन्य संरचना पनि विस्तारै बनाउने तयारीमा छौँ।’

गत साउनमा ताराखोलामा आएको ठूलो बाढीले सडकदेखि झरना पुग्ने पुल बगाउँदा अहिले आगन्तुकलाई समस्या भएको छ । पुल निर्माणका लागि गाउँपालिकाले यस वर्ष २० लाख विनियोजन गरेको र प्रदेश सरकारसँग थप बजेट माग गरेर यसै वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने अध्यक्ष श्रीस बताए।

गाईघाट झरना