Logo
६ वैशाख २०८१, बिहीबार

साता दिनपछि घर फर्कन थाले भजनीका बाढीपीडित

अक्षरपाटी
२०७९ असोज ८ , शनिबार १०:०९ मा प्रकाशित

टीकापुर। कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन्। डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन्।

घर फर्केका नागरिक भत्केका घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र बचेका अन्नपात र लत्ताकपडा सुकाउन थालेका छन्।

भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए। चार हजार परिवार एक सातापछि घर फर्किएका छन् भने अझै तीन हजार बढी परिवार फर्कने वातावरण बनेको छैन।

बाढीपछि पानी सुक्दै जाँदा नागरिक घर फर्कन थालेका हुन्। घर फर्कदा अधिकांश पीडितको रुवाबासी चल्ने गरेको छ। भजनीका ध्वजबहादुर विश्वकर्माको परिवार एक साता हुलाकी सडकमा आश्रय लिएपछि शुक्रबार घर फर्किएको हो।

शुक्रबार घर फर्केर घर सफाइमा जुटेका विश्वकर्माका परिवारलाई अब कसरी जीवन चलाउने भन्ने पिरले सताएको छ। उनको अन्नपात, लुत्ताकपडा सबै नष्ट भएका छन्। विश्वकर्माको परिवार राहत पाए खाउँला भन्ने आशामा छ।

“बाढीले सामान सडेर गन्हाउन थालेको छ। हामी सरसफाइमा जुटेका छौँ”, उनले भने, “सडकमा कति दिन बस्नु, चिउरा र चाउचाउले मात्र ज्यान कसरी धान्नु, स्थानीय सरकारले राहत दिन थालेको छ। त्यही खानुपर्ला।”

भजनीकै धनबहादुर चौधरीको परिवार पनि घर फर्किएको छ। उनको परिवार घर फर्कदा घरका भित्ता भत्किएका, अन्न राख्ने भाडा समेत फुटेका छन्।

वडा नं ८ का वडासदस्य लल्तु डगौरा थारुको परिवारको पनि बाढीले विचल्ली बनाएको छ। उनी पनि एक साता हुलाकी सडकमा बसेर घर फर्किएका छन् ।

नेपालीहरु चाडपर्व मनाउने तयारीमा छन्। चाडपर्वको तयारी गरिरहेका बेला आएको बाढीले भजनीका नागरिकलाई ठूलो पीडा दिएको छ।

भजनीकै सन्दीप रावलले चाडपर्वका समयमा यहाँका नागरिकलाई राहत उपलब्ध गराउनुपर्ने, शिर लुकाउन त्रिपाल दिनुपर्नेमा जोड दिए।

भजनी नगरपालिकाले बाढीपछिको क्षतिको विवरण लिन थालेको छ। नगरपालिकाले पीडितहरुको स्थानमै गएर लागत संकलन गर्न थालेको हो।

बाढीपीडित