Logo
१५ असोज २०७९, शनिबार

‘बाआमा’माथि एक पाठकको प्रतिक्रिया

अक्षरपाटी
२०७९ असोज ८ , शनिबार ११:०९ मा प्रकाशित

0 सन्तोष चाैलागाइँ

पुस्तक पढिसकेपछि भूमिका (रिभ्यु) लेख्नु नै थियो। लेख्छु भन्ने नै थियो। तर खासै लामो भूमिका लेख्छु भन्ने थिएन। तथापि किताबको अन्तिम पानाको ‘अस्तु’ शब्दमा पुगेपछि ‘बाआमा’ का लागि केही समय खर्चिएरै शब्द पोख्न मन लाग्यो।

रामलाल जोशी नेपाली साहित्यका उत्कृष्ट लेखक हुन् भन्ने कुराको मैले मूल्यांकन गरिरहनुपर्दैन। त्यसका लागि २०७२ सालको ‘ऐना’ कथा सङ्ग्रहले प्राप्त गरेको मदन पुरस्कार भन्दा ठूलो प्रमाण सायदै नचाहिएला।
लेखकले सुरूवातमै भनेका छन्

‘यी विश्वासका कुरा हुन्। यी यथार्थका कुरा हुन्। यी लेखिएका कथा होइनन्, भोगिएका कथा हुन्।’
हो मलाई पनि आख्यान पढिसकेपछि यस्तै लाग्यो।

‘हो, यी भोगिएकै कथा हुन्।’

किनकि आख्यान भित्रका कथाहरूमा तपाईंले कसै न कसैलाई पाउनु हुन्छ। काहीँ आफूलाई पाउनुहुन्छ, कहीँ छरछिमेकी, काकाकाकी, मामामाइजू, फुपूफुपाजु वा दाजुभाउजू कसै न कसैलाई अवश्य पाउनुहुन्छ। कसैलाई कथाको बालक पात्रमा पाउनुहुन्छ। कसैलाई प्रौढ त, कसैलाई बृद्ध पात्रमा।

धर्म, समाजिक मूल्यमान्यता, परम्परा र अन्धविश्वासले जकडिएको सुदूरपश्चिमी समाजमा ुमानव जीवन कति कष्टकर र पीडादायी छु भनेर देखाउन खोजिएको ‘बाआमा’ पढ्दै गर्दा मैले सोचें ‘यस आख्यानका कुनै पात्रहरू पनि मेरो वास्तविकतासँग मेल खाँदैन।’

तर यदी कुनै पात्र हुँदो हुँ त कस्तो हुँदो हो ? सहजै अनुमान लगाउन सकिन्न। कति पीडादायी हुँदो हो, त्यो परिस्थिति अनि कति कहालीलाग्दो हुँदो हो, त्यो वास्तविकता । आँङ जिरिङ्ग भएर आयो धेरै ठाउँमा।

म अक्सर ३०० पेजसम्मका किताब एकै बसाइ वा भनौँ सरासरी पढिसकेर मात्रै बिसाउने पाठक । तर ूबाआमाू ले मेरो नियमित विशेषतालाई अड्काइदियो। कहीँ शब्दहरूले घाँटी अठ्याइदियो। कहीँ परिवेशले चिमोट्यो त, कहीँ घटनाले तर्सायो। मलाई एकै बसाइमा आख्यान पढिसक्न दिएन । रामलाल जोशीका गहकिला, कारूणिक र ओजिला शब्दहरूले।

घरीघरि पढ्दापढ्दै सिलिङतिर हेरेँ, टोलाएँ, शब्दका अनि आख्यानभित्रका परिवेशबाट बाहिर आउनु पर्यो। घरिघरि २, ३ घण्टा बिसाएर चिया कफी अनि बाहिरको हावा खाएर फेरि किताब समाउनुपर्नेसम्मको अनुभव ‘बाआमा’ ले दियो। एक बसाइमा सकिने किताब सक्न ४ पटकसम्म उठबस गर्नुपर्यो।

‘किताब पढ्नु वास्तवमै गार्‍हो काम हो । नयाँ अनुभव गर्नु, फरक दुनियाँमा पुग्नु र आफूलाई कतै समाहित गराउनु पनि हो’ भन्ने कुराको फेरि एकपटक महशुस दिलायो ‘बाआमा’ ले।

आख्यानमा प्रस्तुत भएका पात्रहरूकै जस्तो जीवन भोगेका र गुजारेका मानिसहरूले यो आख्यान पढ्छन् पढ्दैनन् थाहा छैन। तर जसले पढ्छन् तिनको हृदय चुडिन्छ, मुटु गठेरिन्छ।

‘बाआमा’ वास्तवमा बाआमाप्रतिको सच्चा सम्मान हो भन्ने मलाई लाग्छ।

‘अरू त को तयार हुनु ? उ आमा हो, म बाबु । जसको मिल्छ उसैको लिनुस्।’

बिरामी छोरालाई बचाउनका लागि एक बाबुले भनेको यो वाक्यांश वास्तवमै मन पगाल्ने खालको छ। यस्ता विविध परिवेश, त्यसभित्र बाँचेका मानिस र भोगेका पात्र तपाईं हामी माझ धेरै होलान्। अझै आख्यानको कथा सुदूरपश्चिमी परिवेशको भएकाले त्यहाँका पाठकहरूले आफूलाई झन् नजिकबाट नियाल्न सक्छन्।

‘अरूका बाबाले परदेशबाट जेजे चीज ल्याइदिन्थे, गाउँमा मजदुरी गरेर मेरी आमाले तिनै चीजहरू मलाई किनिदिनुहुन्थ्यो।’

यी र यस्तै प्रशंग अनि कथाले प्रस्तुत आख्यानमा बाआमाका संघर्ष बाहेक बालखैमा टुहुरो हुनुको पीडा, बाल मनस्थितिमा खेल्ने अनेकन दृश्यहरू, एक्लिनुको पीडा, बाआमाको न्यानो काख छोडेर बाहिरिनुको पीडा… आदि धेरै कोणबाट बाआमाको महत्व, सन्तानप्रतिको बाआमाको समर्पण र बाआमाले सन्तानको सुखको लागि उठाउन सक्ने बोझ आदि कुराहरूलाई यथार्थ चित्रण गरिएको छ।

यसका साथै असल गुरु शिष्यको सम्बन्ध, आत्मीयता, रगतभन्दा बाहिरको जोडिएको प्रेमिल सम्बन्ध, रोदन, पीडा, करूणा सहितका मानवीय समवेदनाका अनेकन भावहरूलाई उत्कृष्टताका साथ प्रस्तुत गरेर उत्कृष्ट आख्यान तयार गर्न सक्ने प्रिय लेखक रामलाल जोशीप्रति उच्च सम्मान प्रकट गर्दछु।

अन्त्यमा एकाध विषय, प्रशंग र प्रस्तुतिकरणलाई पर राख्ने हो भनें आख्यानले जो कसैलाई फरक अनुभूति दिलाउन र किताब किनाइ अनि यसको पढाइका लागि भएको समयको खर्चमा कसैलाई पनि दुखेसो हुनेछैन । यस आख्यानले पाठकलाई आजसम्म पढेका कृतिहरूभन्दा केही पर तानेर फरक अनुभूति र फरक दृष्यमा घुमाउन सक्छ।

यो नै यसको सबैभन्दा पृथक पक्ष हो। अतः पुस्तक आफैमा बेस्ट सेलर छँदैछ। यसले रामलाल जोशीलाई थप उचाइमा पुर्याउन सकोस् प्रिय लेखकलाई भव्य शुभकामना ।

(यो पाठक समीक्षा हामीले चाैलागाइँकाे फेसबुकबाट लिएका हाैँ- सं)

बाआमा रामलाल जोशी सन्तोष चाैलागाइँ