



धनगढी। सुदूरपश्चिमाञ्चल साहित्य समाजले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न साहित्यिक पुरस्कार तथा सम्मानहरू २०८२ का लागि घोषणा गरेको छ।
समाजले गठन गरेको निर्णायक समितिको सिफारिसका आधारमा साहित्य, भाषा, संस्कृति तथा विभिन्न क्षेत्रका स्रष्टा तथा कृतिहरूलाई सम्मानित गर्ने निर्णय गरिएको सँस्थाका अध्यक्ष रामलाल जाेशीले बताए।
समाजद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको बद्री कृष्णा वाङ्मय पुरस्कार–२०८२ प्रा. डा. जगमान गुरुङलाई प्रदान गरिने भएको छ। उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ भने सम्मानपत्रसहित सम्मान गरिने सँस्थाले जनाएको छ।
त्यसैगरी प्रभास राज्यलक्ष्मी कृति पुरस्कार–२०८२ साहित्यकार ओम रिजाल द्वारा लिखित कृति ‘पैकेलो’ लाई प्रदान गरिने भएको छ। पुरस्कारअन्तर्गत ५० हजार रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिने समाजले जनाएको छ।
सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार–२०८२ साहित्यकार कैलाश पाण्डेलाई प्रदान गरिने भएको छ। पुरस्कारको राशि २५ हजार रुपैयाँ छ।
त्यस्तै श्री लोचन साहित्य पुरस्कार–२०८२ कथा सङ्ग्रह ‘किनार’ का लेखक साहित्यकार पुष्पराज पाण्डेलाई प्रदान गरिने भएको छ। उक्त पुरस्कारमा २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिनेछ।
विष्णुदास यज्ञ साहित्य पुरस्कार–२०८२ कवि पूर्णानन्द ओझालाई प्रदान गरिने भएको छ। पुरस्कारअन्तर्गत २५ हजार रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिने समाजले जनाएको छ।
त्यसैगरी गणेश स्मृति हेमन्ती पुरस्कार–२०८२ साहित्यकार रिचा लुइटेललाई प्रदान गरिने भएको छ। उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ छ।
यसैगरी प्रतिभा श्री सम्मान–२०८२ बालप्रतिभा हिमांशी भट्टलाई प्रदान गरिने भएको छ। सम्मानअन्तर्गत ११ हजार रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिनेछ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजका अनुसार घोषणा गरिएका पुरस्कार तथा सम्मानहरू समाजले आयोजना गर्ने आगामी कार्यक्रमहरूमा प्रदान गरिनेछन्।
प्रभास राज्यलक्ष्मी कृति पुरस्कार भने आगामी भानुजयन्ती समारोहका अवसरमा वितरण गरिनेछ भने अन्य पुरस्कार तथा सम्मान उपयुक्त समयमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिने जनाइएको छ।
रामलाल जोशी सुदूरपश्चिम साहित्य समाज


