Logo
७ वैशाख २०८१, शुक्रबार

गोरखा दरबारको दसैघरमा जमरा राखियो

अक्षरपाटी
२०७९ असोज १० , सोमबार ११:०९ मा प्रकाशित

गोरखा। गोरखाको कालिका मन्दिरमा रहेको दसैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ।

बिहान १० बजेर २३ मिनेटको शुभसाइँतमा दसैँ घरमा जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए।

परम्पराअनुसार बिहान सवेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाइँतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उनले बताए।

मूल दरबारको कैलास कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीको सवारी गराएर कैलास कोठामा बिधिपूर्वक पूजाआजा गरी जमरा राखिएको हो। जमरा राख्नुअघि मूलदरबारमा पानी घडा थपना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिए।

गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दुधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ।

बडादसैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ।

गोरखा दसैं घर