Logo
१३ वैशाख २०८१, बिहीबार

मनास्लुमा हिमपहिरो, १२ जना घाइते

अक्षरपाटी
२०७९ असोज १० , सोमबार ०५:०९ मा प्रकाशित

काठमाडौं। गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर र ६ जना सामान्य घाइते भएको उनले बताए। मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएको पनि उनले बताए।

हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौंबाट तीनवटा हेलिकोप्टर पठाइएको छ।

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ। मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपाली आधार शिविरमा छन्।

सेभेन समिट ट्रेकलगायत विभिन्न कम्पनीबाट आरोही मनास्लु गएका हुन्। पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन्।

यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुलि आरोहणका लागि जम्मा ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन्।

मनास्लुमा हिमपहिरो