Logo
१६ चैत्र २०८०, शुक्रबार

बन्दीपुरको सिस्नेघारीमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

अक्षरपाटी
२०७९ कात्तिक ४ , शुक्रबार ०८:१० मा प्रकाशित

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाले आक्रमण गर्दा तीँ बालिकाको मृत्यु भएको हो। बिहान साढे ६ बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए। चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो।

‘घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ’, उनले भने। बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत छिन्।

पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ। गत असारमा बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।

चितुवाको आक्रमणबाट बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो। बन्दीपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए।

केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको हो। चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन्। चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन्।

चितुवाको आक्रमण बन्दीपुर