Logo
९ जेठ २०८२, बिहीबार

तिहार आजदेखि सुरु, भाइटिका कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा

अक्षरपाटी
२०७९ कात्तिक ५ , शनिबार ०६:१० मा प्रकाशित

काठमाडौं। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ।

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ६ गते आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ।

आइतबार बेलुकी ५ः०४ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। बेलुकी ५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ। यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ।

“सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उनले भने।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि आजै परेको छ। धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ।

तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा सोमबार एकै दिन परेको समितिले जनाएको छ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताएका छन्। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ।

कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ। बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए।

सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ। यसलाई नरक स्नान भनिन्छ। यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ।

गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ। गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ।

कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ।

भाइटीका ११ः३७ बजे
कात्तिक १० गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान ११ः३७ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले बताए। भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक १० गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीलगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ। बत्तीको उज्यालोले सहरमा घुम्दा मन आनन्दित हुन्छ। केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन्।

टिका तिहार