Logo
७ वैशाख २०८१, शुक्रबार

‘दोरी’ उपन्यासमा विज्ञानको सन्दर्भ र नेपाली युवाको अवोध प्रेम

अक्षरपाटी
२०७९ कात्तिक ८ , मंगलबार ०८:१० मा प्रकाशित

० गणेश नेपाली

दोरीलाई  एकदिन कोईतोले कोठामा यातना समेत दिई बलात्कार गरेको देवले देख्दा दोरीको निरीह दास जीवन र यौन दासीको अपमानित पीडादायी जीवनदेखि दोरीप्रति दया,  सहानुभूति जाग्छ-देवमा । उ कोइतोप्रति क्रोधित हुन्छ। त्यो विरानो देशमा आफूले प्रेम गरेकी नारीको अस्मिता लुटिएको आफ्नै आँखाले देख्नुपर्दा आफ्नो निरीहताप्रति नै घृणागर्छ।

दोरी उपन्यासमा हाम्रो सामाजिक, पारिवारिक, साँस्कृतिक र आर्थिक जनजीवनको मार्मिक तस्वीर सुस्पष्ट राख्न उपन्यासकार जनक रसिक सफल भएका छन्।

नेपाली आख्यान जगतमा विज्ञानको सन्दर्भलाई आख्यानको विषयबस्तु बनाएर लेखिएका थोरै आख्यानमध्ये दोरी पनि हो। कुनैपनि साहित्यिक सृजनाले तब मात्र पाठकलाई आकर्षण गर्न सक्छ जब त्यसले फरक मिठो स्वाद दिन सक्छ।

हो, मिठो शैलीमा, नौलो स्वाद पस्केर जनक रसिकले आफ्नो पनि हस्तक्षेपकारी पहिचान बनाएका छन्, नेपाली आख्यान जगतमा।

देव नामको मूख्य पात्र कसरी प्रसन्नदेव बन्नुपर्‍यो। हाम्रो सामाजिक जनजीवन आजको वैज्ञानिक चमत्कारिक युगमा कुन गतिमा अघि बढेको छ। यो आर्थिक युगमा उद्यमशीलताको अवस्था कुन हालतमा छ? बेरोजगारीले युवालाई पारेको किंकर्तव्यविमूढको अवस्था र युवाले देशमै पौरख गरी खान नसक्ने अनेक पाटाहरू उपन्यासमा देखाउने प्रयत्न गरिएको छ।

भारतीय सहरमा छिमेकीहरू रोजगारीका लागि गएको र तिनै लाहुरेहरूकै बाटो हिँड्न लालायित भएको देव पनि भारतीय सहरहरूमा पुगेर रोजगारीको नाममा मालिकहरूको हेपाई र शोषण बाहेक अरू नपाएर फेरि घर नै फर्किएको हुन्छ।

जापानतिर कुनै उद्यम गरेर बसेका नेपाली पात्र मयशर काका देवका लागि देवता जस्ता भएर साक्षात प्रकट भएका छन्।
लाखौं लगानी गरेर काम खोज्न जानुपर्ने विश्वकै धनीमध्येको र विज्ञानको विकासको चरमचुलीमा पुगेको देशमा सहजै जान पाउनु र काम पाउनु देव जस्ता विपन्न ग्रामीण युवाका लागि कम्ती चमत्कार हो र ?

समीक्षक : गणेश नेपाली

चमत्कारपूर्ण तरिकाले देव जापान पुग्छ। प्लेनको यात्रा नै उसका लागि रोमान्चक हुन्छ । नेपालमा तिहारमा पनि सहरको सामान्य झिलिमिली देख्न नपाएको देवका लागि जापानको सम्पन्नताले चकित बनाइदिन्छ ।

दयालु र उदारमना मयशर काकाको असीम अनुकम्पाले घर परिवारको अवस्था सुध्रिन थाल्छ। देवमा पनि ग्रामीण जीवनको निरीह, टिठलाग्दो अवस्थामा पनि आकर्षण बढेको महसुस गर्छ देवले।

देवले काम गर्न थालेपछि देवको मालिक कोइतोले घरमा काम गर्ने दोरी नामकी केटीलाई ल्याउँछन्। उनको सुन्दरताबाट मोहित देवले उसलाई नजानिदो गरी प्रेम गर्नथाल्छ।

दोरीको मुस्कान र आँखाको लय नै जादुमय थियो। त्यही हेराइको जादुले पनि देवलाई उसले माया गर्न थालेको आभाष हुन्छ। देवको दोरी प्रतिको प्रेम र आशक्तिपूर्ण व्यवहार थाहा पाएपछि मालिकले हेपेको र कुटपिट गरेको घटनाले शारीरिक यातना त दियो नै।

मानसिक यातना र तनाव समेत थपियो। मयशर काकाको उत्साहप्रद व्यवहारले कोइतोको घरमा देव पुरानै लयमा फर्किन्छ। दोरीलाई कोइतोले किनेर ल्याएकोसम्म थाहा पाएर जापन जस्तो देशमा पशु झैँ मानिसको खरिद बिक्री हुने देख्दा दोरीको जीवनप्रति ऊ दुखी हुन्छ। त्यो दासताले क्रोधित बनाए पनि आफ्नो सिमितता र विवशता उसले बुझेको छ विरानो देशमा। उ बिद्रोही हुन सक्दैन। लाचार बाँचिरन्छ।

दोरीलाई  एकदिन कोईतोले कोठामा यातना समेत दिई बलात्कार गरेको देवले देख्दा दोरीको निरीह दास जीवन र यौन दासीको अपमानित पीडादायी जीवनदेखि दोरीप्रति दया,  सहानुभूति जाग्छ-देवमा । उ कोइतोप्रति क्रोधित हुन्छ। त्यो विरानो देशमा आफूले प्रेम गरेकी नारीको अस्मिता लुटिएको आफ्नै आँखाले देख्नुपर्दा आफ्नो निरीहताप्रति नै घृणागर्छ।

यति अगाध माया गरेकी दोरी यन्त्र मानव हो भन्ने थाहा पाउन उसलाई धेरै समय लाग्नु र मान्छे ठानेर प्रेमिल हुँदासम्म कथा रहस्यको अबिरल प्रवाहमा पौडीरहन्छ। उपन्यासको अन्त्यतिर नपुग्दासम्म वा पढिसकेको पाठकले नभनेसम्म यो रहस्यको नजिक पुग्न सकिदैन्। यस्ता पाटाहरूले उपन्यासको कथा सिर्जना क्षमता अदभूत छ भन्ने देखाउँछ।

कथाको शिर्षक डोली अंग्रेजी शब्दको जापानी उच्चारण दोरी रहेछ। जापानी लिपीमा ल, ड भन्ने अक्षर नै नहुने भएकोले जापानीहरूले ल अक्षरलाई र उच्चारण गर्छन भने ड लाई द। यसरी यन्त्रमानव डोलीको उच्चारण दोरी हुन गएको भन्ने पनि कहिँकतै आख्यानमा आइदिएको भए पाठकलाई दोरी शब्दको बारे स्पष्ट हुन्थ्यो।

अनि देवलाई जापानमा घरायसी काममा पनि रोबोट यन्त्र मानवको प्रयोग हुन्छ भनेर सहजीकरण भएको हुनुपर्थ्यो भन्ने पाठकलाई लागिरहन्छ। त्यस्तै कोईतोको घरमा काम गर्न ल्याइएकी दोरीलाई उसले केटी नै ठानेर माया गरेको थियो।

बिहे नै गर्ने सपना देख्न थालेको थियो। सायद पहिले नै डोली यन्त्र मानव हो भन्ने ठानेको भए यन्त्र मानवप्रति देव किन भ्रममै रहन्थ्यो होला र ? यसले नेपाली समाज र नेपालमा अझै विज्ञान कुन गतिमा छ भन्ने व्यंग्य पनि उपन्यासकारले गर्न खोजेको बुझिन्छ।

उपन्यासमा यसरी विज्ञान र बदलिँदो परिवेशबारे थाहा नपाएर मानसिक असन्तुलनको अवस्थामा पुगेर लामो उपचारपछि सामान्य अवस्थामा फर्किन निकै गाह्रो भएको अवस्थाप्रति समयमै सचेत हुन रोजगारदाताको पहिलो काम भएको महत्वपूर्ण पाटो अव्यक्त रूपमा व्यक्त भएकोछ।

आफू रेडियसनको सिकार भएर शारीरिक अपूर्णताको शिकार भएको देवलाई भविश्यमा आइलाग्ने चुनौतिको सामना गर्नसक्ने अवस्थामा पुग्न मनोपरामर्शले कति धेरै काम गरेको छ भन्ने पनि आख्यानमा देखाइएको छ।

मानसिक रूपमा सञ्चो हुने अवस्थासम्म पुग्न उसलाई जीवन जगतको ज्ञान कसरी प्राप्त भयो त्यो सबै थाहा पाउन दोरी उपन्यास नै पढ्नुपर्छ ।

आणविक भट्टी, त्यसबाट उत्पादन हुने आणविक उर्जाको महत्व र त्यसको दुरुपयोग भयो भने त्यसले झन मानव जीवनलाई पुर्‍याउने क्षतिको अनुमान कसरी गर्नु ? यसले विज्ञानप्रति रुचि हुनैपर्ने अत्यावस्यकतालाई पुस्ट्याउदछ ।

साहित्यमा विज्ञानको सन्दर्भमा कथाबस्तु आएको र शिक्षाको आवस्यकता हरेक व्यक्तिलाई कति जरूरी छ भन्ने कुरा उपन्यासले भन्न खोजेको छ। उपन्यासको भाषा, शैलीमा सरलता छ। शिवराज योगीले सम्पादन गरेको उपन्यास, शिखा बुक्सले बजारमा ल्याएको हो।

जनक रसिक दोरी शिखा बुक्स