Logo
१४ वैशाख २०८१, शुक्रबार

कांग्रेसको सङ्कल्पः एक घर, एक धारा

अक्षरपाटी
२०७९ कात्तिक १३ , आईतबार ०९:१० मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसले एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको पार्टीको चुनावी सङ्कल्पपत्रमा सबै नेपालीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यअनुरुप एक दशकभित्र एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ।

खानेपानी संस्थानलाई सस्तोमा बिजुली उपलब्ध गराउने, सहरलाई सफा बनाउन एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू हरेक नगरपालिकामा सञ्चालन गर्ने सङ्कल्पपत्रमा उल्लेख छ।

फोहर पानी प्रशोधन केन्द्र हरेक प्रमुख सहरमा सुरु गरी घर, कारखाना तथा व्यवसायका फोहर पानी बिनाप्रशोधन सिधै नदीमा नपुग्ने व्यवस्था गरिने, ठूला सहरमा जलाशयबाट पानी आपूर्ति गर्ने र त्यो आपूर्तिलाई नियमितरूपमा प्रयोगशालामा परीक्षण गर्ने पद्धति गरेको छ।

यस्तै इन्टरनेटको पहुँच अधिकांश विद्यालय, स्वास्थ्य केन्द्र र सामुदायिक भवनसम्म पु¥याइने र शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई इन्टरनेटको माध्यमबाट रुपान्तरण गरिने बताइएको छ।

कोहलपुर, खुमलटार तथा धरानमा डाटा केन्द्र तथा बुटवलमा इन्टरनेट एक्सचेन्ज केन्द्र बनाइने घोषणापत्रमा उल्लेख छ।

साइबर सुरक्षालाई विशेष ध्यान दिई ‘डिजिटल नेपाल’ फ्रेमवर्क लागू गरिने, सबै सरकारी सेवालाई यथाशक्य अनलाइनमा उपलब्ध गराइ जनताले लाइन लागेर सरकारी सुविधा लिनुपर्ने स्थितिको अन्त्य गरिने, हुलाक सेवाको आधुनिकीकरण गर्दै सरकारी दस्तावेज ओसारपसार गर्ने र पासपोर्टलगायतका जनसाधारणलाई अतिआवश्यक दस्तावेजलाई घरमै पु¥याउने काममा हुलाकलाई प्रयोग गरिने कांग्रेसको संकल्पपत्रमा उल्लेख छ।

नेपाली कांग्रेस संकल्प पत्र