



गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा बाढी तथा पहिरोबाट ठूलो भौतिक क्षति भएपछि प्रभावित नागरिकका लागि तत्काल राहत सामग्री पठाउने तयारी गरिएको छ।
आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको नाम्रुङमा बाढीपहिरोबाट भएको क्षतिको विवरण लिएपछि गृहमन्त्री सुधन गुरुङले नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरी प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने व्यवस्था मिलाएका हुन्।
नाम्रुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढी तथा पहिरोले घर, होटल, पुल तथा विद्युत् संरचनामा क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका दुई र छिरिङ वाङ्दीका तीनवटा घर क्षतिग्रस्त भएका छन्। यस्तै, उर्गेन चेतन होटल र नुर्बु वाङ्गल होटल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
चाराङ खोलामा आएको बाढीले बुढीगण्डकी पुल तथा जोलुङ्गे पुल नजिक रहेको जगत होटलसमेत पूर्ण रूपमा बगाएको छ। छेवाङ दोर्जेको घर पनि उच्च जोखिममा रहेको जनाइएको छ।
बुढीगण्डकी खोलामाथिको पुल पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मनास्लु ट्रेकिङ रुटको पदमार्गसमेत अवरुद्ध भएको छ। बाढीपहिरोका कारण नाम्रुङ क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको छ भने सरकारी तथा निजी विद्युत् प्रणालीमा समेत क्षति पुगेको छ।
चाराङ लेकमा युदोन ग्याल्तेन र दावा ताशी सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आए पनि उनीहरूसँग पुनः सम्पर्क भइसकेको र दुवै जना सुरक्षित रहेको जनाइएको छ। हालसम्म मानवीय क्षति भने नभएको बताइएको छ।
प्रारम्भिक विवरणअनुसार चाराङ खोला क्षेत्रमा मात्रै बाढी तथा नदी कटानका कारण कम्तीमा ६ वटा घर प्रभावित तथा क्षतिग्रस्त भएका छन्।
बाढीपहिरोबाट भएको थप क्षतिको विवरण संकलन भइरहेको छ भने प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन आवश्यक समन्वय र व्यवस्थापनको काम अघि बढाइएको छ।
नाम्रुङ बाढीपीडित

