Logo
८ वैशाख २०८१, शनिबार

नदी कटान नियन्त्रण गर्न नसके अर्को पटक भोट माग्न आउँदिन – रमेश लेखक

अक्षरपाटी
२०७९ कात्तिक १३ , आईतबार १०:१० मा प्रकाशित

कञ्चनपुर। पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले महाकालीपारिको दोधारा चाँदनी नगरपालिकामा जोगबुढा नदी कटान नियन्त्रण पाँच वर्षमा गर्न नसके अर्कोपटक भोट माग्न नआउने वाचा गरेका छन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट बाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता लेखकले आइतबार दोधारा चादँनी १० मा आयोजित चुनावी कार्यक्रममा आगामी पाँच वर्षभित्र जोगबुढा नदीबाट यहाँका स्थानीयको बस्ती जोखिममा पर्न नदिने प्रतिबद्धता जनाए।

‘हामीलाई जिताएर पठाउनुहोस, यहाँको नदी कटानको समस्या बाँध बाँधेर जोगाउन सकिएन भने अर्को पटक भोट माग्नै आउँदिन’, उनले भने।

दोधारा चादँनीलाई महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरेर मूलधारसित जोडेका नेता लेखककै पहलमा यहाँ चार लेनको पक्की पुल निर्माण अन्तिम चरणमा छ।

“सुक्खा बन्दरगाहका लागि अहिलेकै सरकारले बजेट विनियोजन गरेर यसै वर्षदेखि काम अघि बढ्छ”, उनले भने, “दोधारा चादँनीका हरेक सडक कालोपत्रेदेखि नदी नालामा पुलहरू म आफैँ भौतिक पूर्वाधारमन्त्री हुँदा बजेट आएर बनेको अवगत नै छ।”

रमेश लेखक