


काठमाडौं । साउदी अरबस्थित सेवा आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाली कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको हो। कांग्रेसले निर्दोष नागरिकको ज्यान जानेगरी हुने हिंसात्मक घटनाको निन्दा र भत्र्सना गर्दै नेपाल संलग्न नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनु अत्यन्त दुःखद र चिन्ताजनक विषय भएको जनाएको छ।
कांग्रेस सभापति गगनकुमार थापाले अनाहकमा एक जना मात्रै भए पनि नेपालीको जीवन गुम्नु अत्यन्तै दुःखद भएको बताउँदै दिवंगत नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली नागरिकको सुरक्षाका लागि थप गम्भीर पहलकदमी गर्न सरकारलाई आग्रह गरेका छन्।
सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन तथा आवश्यक परे नेपाली नागरिकको उद्धारको प्रबन्ध गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
कांग्रेसले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडादायी अवस्थामा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।
नेपाली कांग्रेस

