Logo
१४ वैशाख २०८१, शुक्रबार

फेरियो व्यवस्था, फेरिएन बोटेको अवस्था

अक्षरपाटी
२०७९ कात्तिक १४ , सोमबार ०९:१० मा प्रकाशित

तानसेन। बिहानको मिरमिरे उज्यालोसँगै गजवीर बोटे घरछेवैको गोठमा डाँढाभाटा लगाउँदै थिए। पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका ७ दैलातुङ्गका गजवीरको गत २०७८ फागुनमा गोठमा आगलागी भएको थियो।

उनी भन्दै थिए, “पानीबाट जोगाउन थोत्रा पुराना टिन र त्रिपाल बटुलेर लगाउँदै छु।” यहाँ ३२ घर बोटेमाझीको बस्ती छ। गजवीर, बोटे समुदायका अगुवा हुन।

८२ वर्षीय गजवीरले नेपालको राजनीतिक व्यवस्था फेर्न यो क्षेत्रबाट अगुवाइ गरेका थिए। पञ्चायतकालमा जनतापक्षबाट अगुवाइ, ०४७ मा बहुदलको आन्दोलन र ६२–६३ मा जनआन्दोलनको नेतृत्व गरेका गजवीर आफ्नै छाक टार्न समेत जोहो गर्न नसक्ने अवस्थामा पुगेका छन्।

६८ वर्षीया श्रीमतीसँगै बस्दै आएका गजवीरका ६ भाइ छोरा र चार छोरी छन्। तर उनीहरू कोही पनि साथमा छैनन्। यो बस्ती कालीगण्डकी नदी किनारमा अवस्थित छ।

यहाँका बोटे समुदायले डुङ्गा तार्ने काम गर्दथे। दैलातुङ्गदेखि पाल्पाको बगनासकाली, तानसेन तथा स्याङ्जाको कालीगण्डकी र गुल्मीसम्मका मानिस कालीनदी तरेर जाने गर्दथे। गजवीरले १३ वर्षको उमेरदेखि डुङ्गा तार्ने काम गर्दै आएका थिए।

तीन वर्षअघिसम्म यहाँको कालीगण्डकी नदीमा आजकल जस्तो पुल थिएन। सर्वसाधारणलाई नदी वारिपारि गर्न डुंगाको सहारा लिनुपर्थ्यो। मान्छेलाई वारिपारि गराएर स्थानीय बोटे समुदायको घरमा चुलो बल्थ्यो।

अहिले कालीगण्डकी नदीमा पुल बनेपछि गजवीरको डुंगा गण्डकी किनारमा फालिएको छ र उनको आम्दानीको स्रोत बन्द भएको छ।

यहाँकै रुकबहादुर बोटे खुट्टामा चोट लागेपछि घरमै थला परेको चार वर्ष भयो। ६९ वर्षका रुकबहादुरलाई गाउँमा बाँदर धपाउन जाँदा लडेर चोट लागेको थियो।

गाउँमै मेलापात र माछा मारेर दैनिकी चलाउँदै आएका उनले आफ्नो जीवनकालमा छ पटक संसदीय निर्वाचनमा भोट हाले ।

“पहिला पहिला त घर आएर भोट माग्थे, अहिले त आएका छैनन्”, आसन्न मङ्सिर ४ को चुनावलाई लक्षित गर्दै उनले भने, “यहीँ माथिबाट नेताहरूको गाडी जान्छ, गाउँमा पस्दैनन्।”

रुक बहादुरको घर नजिकै खानीगाउँ दैलातुङ्ग–स्याङ्जा–विर्गा जोड्ने मोटरबाटो रहेको छ। पाल्पा निर्वाचन क्षेत्र नं २ मा पर्ने यो क्षेत्र लुम्बिनी प्रदेशको २ (१) हो।

यहाँबाट २०७४ सालको संसदीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले) का सोमप्रसाद पाण्डेय निर्वाचित भएका थिए। तर उनको नजरमा यो गाउँको पीडा परेन।

त्यसैगरी प्रदेशसभातर्फ नेपाली कांग्रेसका वीरबहादुर राना निर्वाचित भए। रानाको जन्मघरसमेत यसै वडामा पर्दछ। उनी अहिले लुम्बिनी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत छन्। उनले पनि यहाँको अवस्था बदल्न सिन्को भाँचेनन्।

पाण्डेय र राना दुवै अहिले गठबन्धनको तर्फबाट पुनः यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा उमेदवार छन्।

अन्य समुदायका घरमा टिनको छानो लगाइएको छ भने बोटेहरूका धेरैजसो घर झुपडी र टिनको छाप्रोयुक्त छन्। वैदेशिक रोजगारीका अतिरिक्त पुरुषहरू सिकर्मी÷डकर्मी काम गर्ने, वल्लोपल्लो घरमा ज्याला मजदुरीमा काम गर्न जाने गर्छन्।

महिलाहरू छिमेकीका घरको कामधन्दासँगै उनीहरूका खेतबारीको काम गर्छन्। यहाँका बोटे समुदायसँग उनीहरूलाई गरिखान पुग्ने जमिन छैन।

“घर उब्जाएको उत्पादनले खान पुग्दैन, किनेर खान पैसाले पुग्दैन्”, स्थानीयवासी पवित्रा बोटे भन्छन्, “हामीलाई के नै चाहिएको छ र? दुई छाक खान पुग्ने व्यवस्था भइदिए हुन्थ्यो भन्ने त हो।”

बोटे बस्तीमा नेपाल सरकारले जनता आवास कार्यक्रमबाट बस्नका लागि घर निर्माण गरिदिएको थियो। स्थानीयवासी पवित्रा बोटका अनुसार ३२ घर बोटे परिवार रहेको बस्तीमा आठ वटा मात्र घर निर्माण भएका छन्। बाँकी घर झुपडी र टिनको छाप्रोयुक्त छन्।

कूल जनसङ्ख्याको शून्य दशमलव पाँच प्रतिशत जनसङ्ख्या भएको समुदायलाई नेपाल सरकारले अल्पसङ्ख्यकको सूचीमा राखेको छ।

नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसङ्ख्यक सूचीमा परेका छन्। यसमा बोटे र माझी पनि पर्दछन्। पाल्पा सदरमुकाम तानसेनबाट झण्डै १५ किलोमिटर उत्तरमा रहेको खानीगाउँको दैलातुङ्ग र वडा नं ६ स्थित यम्घाको दर्पुकमा सीमान्तकृत बोटे समुदाय बस्छन्।

यी दुवै गाउँ कालीगण्डकीको किनारमै छन्। दैलातुङ्गमा बोटे समुदायका ३२ घर छन्। त्यस्तै दर्पुकमा ८० घर बोटे समुदाय छन्। अहिले दैलातुङ्गमा बोटे समुदायको जनसङ्ख्या १५० छ भने दर्पुकमा यो समुदायको जनसङ्ख्या तीन सय ५० को हाराहारीमा छ।

त्यस्तै तानसेन नगरपालिकाको बौघागुम्हा, रामपुर नगरपालिकाको रामपुर र दर्छा तथा रम्भा गाउँपालिकाको हुँगीमा पनि बोटे समुदायको बसोबास छ।

यी सबै बस्ती कालीगण्डकी किनारमै पर्छन्। विसं २०६८ सालको जनगणनाअनुसार देशभर बोटे जातिको जनसङ्ख्या १० हजार छ। पाल्पामा भने यो जातिको जनसङ्ख्या आठ सय तीन छ। तीमध्ये महिलाको सङ्ख्या चार सय ३९ छ । पुरुषको सङ्ख्या तीन सय ६४ छ।

पाल्पाको कूल जनसङ्ख्या दुई लाख ६१ हजार एक सय ८० रहेकामा जिल्लामा बोटे समुदायको जनसङ्ख्या भने शून्य दशमलव ३१ प्रतिशत छ। पाल्पा बाहेक चितवन, उदयपुर, मकवानपुर, तनहुँ लगायतका जिल्लामा समेत बोटे जातिको बसोबास छ।

बोटे