Logo
१२ वैशाख २०८१, बुधबार

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

अक्षरपाटी
२०७९ कात्तिक १४ , सोमबार १०:१० मा प्रकाशित

आज बिहान उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन गरिएको छ ।

जलासय किनारमा पूजासामग्रीसहित ब्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो । यस अघि
आइतबार साँझ अस्ताउँदो सूर्यको अर्घ दिइएको थियो । चारदिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ ।

सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्व मनाइन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन पोखरी, नदी, इनार लगायतको जलासय किनारमा हिजो दिउँसोदेखि नै पूजा सामग्रीसहित श्रद्धालु तथा ब्रतालु पूजा आराधना गरि बसेका थिए ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुने गर्दछ ।

अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।